04/08/2026, 00:31:41
मङ्गलबार, चैत २४, २०८२

‘दुईपाङ्ग्रे एम्बुलेन्स’ सेवा सञ्चालन गर्दै काठमाडौँ महानगर


काठमाडौँ, चैत २० गते । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी थालेको छ ।

बिरामी भएका ठाउँमा चारपाङ्ग्रे एम्बुलेन्स पुग्नुअघि नै स्वास्थ्यकर्मी पुग्न दुईपाङ्ग्रे एम्बुलेन्स सञ्चालन गर्न लागिको कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो । उहाँले त्यस्तो एम्बुलेन्स सञ्चालनमा ल्याउनेबारे सम्बन्ध भएका निकायसँग छलफल गरिसकेको जानकारी दिनुभयो ।

डङ्गोलले एम्बुलेन्स सञ्चालनको वैज्ञानिकताका लागि अध्ययन गर्नुपर्ने बताउँदै जटिल स्वास्थ्य अवस्था आएर आपत् सृजना भएका ठाउँमा स्वास्थ्यकर्मीलाई छिटो पुग्नका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सञ्चालनको तयारी गर्न स्वास्थ्य विभागलाई निर्देशनसमेत दिनुभयो ।

बिरामी भएका ठाउँमा सकेसम्म छिटो एम्बुलेन्स पुर्याउन, आफूले बोलाएको एम्बुलेन्स कहाँ आउँदैछ रु एम्बुलेन्समा को-को छन्, बिरामीका आफन्तले थाहा पाउने प्रणाली कार्यान्वयनमा ल्याऔँ”,  उहाँले भन्नुभयो, “सवारी चापका कारण एम्बुलेन्स पुग्न समय लाग्ने अवस्थामा मोटरसाइकल एम्बुलेन्सबाट बिरामी भएका ठाउँमा तत्काल चिकित्सक पुग्ने संयन्त्र तत्काल निर्माण गरौँ ।

कामपाले एम्बुलेन्स सेवा भने २०७६ वैशाखबाट नै अत्यावश्यक पर्दा निःशुल्क सेवा सञ्चालन गर्दै आएको छ । छलफलमा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले कामपाको सेवामा उपत्यकाका अन्य पालिकाको आर्थिक साझेदारिताको सम्भावनामा छलफल गर्नुपर्ने खाँचो देखाउनुभयो । वित्त विभागका प्रमुख डा शिवराज अधिकारीले लागत घटाएर गुणस्तर सेवा बढाउने विषयमा अध्ययन गरिनुपर्ने बताउनुभयो ।

सहकार्यबाट प्राप्त उपलब्धिका विषयमा एम्बुलेन्स सेवाका सदस्य डा. आशिष श्रेष्ठ र कार्यालय प्रमुख अमित जोशीले कामपासँग सहकार्य भएपछि ८४ हजार ४८९ जना बिरामीलाई सेवा प्रदान गरिएको बताउनुभयो । यस क्रममा ६९ जना गर्भवतीले एम्बुलेन्समै बच्चालाई जन्म दिएको पनि जानकारी दिनुभयो ।

कोभिड–१९ का समयमा २३ हजार ५०० जनालाई सेवा प्रदान गरिएको थियो । अहिले कामपाको सातवटा, कीर्तिपुर अस्पतालमा एउटा, ललितपुरको सातदोबाटोमा एउटा र भक्तपुरको सल्लाघारीमा एउटा एम्बुलेन्स राखेर सेवा दिइँदै आएको छ ।

सम्पर्क गरेपछिको आठ मिनेटमा बिरामी भएको ठाउँमा एम्बुलेन्स पुग्न सक्ने मापदण्ड बमोजिम उक्त सेवा सञ्चालन गर्न उपत्यकाका लागि ४९ वटा एम्बुलेन्स आवश्यक पर्छ । अध्ययनमा छलफल गर्दै सवारी चापले सृजना गर्ने चुनौतीको सामना गर्ने रणनीति बनाउन आवश्यक रहेको बताइएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..