काठमाडौँ, चैत २४ गते । प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले ‘जेन–जी’ आन्दोलनका क्रममा भएका कमी-कमजोरीलाई तत्कालीन नेतृत्वले स्वीकार गर्नुपर्ने बताउनुभएको छ । मङ्गलबार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सो टिप्पणी गर्नुभएको हो ।
सांसद पुनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले सो घटनामा प्रत्यक्ष रूपमा गोली चलाउने आदेश नदिएको भए पनि सरकारको प्रमुख पदमा रहेको नाताले जिम्मेवारी लिनुपर्ने तर्क गर्नुभयो । मातहतका कर्मचारी वा निकायबाट भएको गल्तीको नैतिक जिम्मेवारी प्रमुख व्यक्तिले लिनु नै लोकतान्त्रिक पद्धति भएको उहाँको भनाइ थियो ।

सांसद पुनले नेतृत्व तहले गल्ती स्वीकार गर्न हिचकिचाउन नहुनेमा जोड दिँदै भन्नुभयो, “आज उहाँहरूले गोली चलाउने आदेश दिएनौँ भन्नुहोला, तर प्रमुख त उहाँहरू नै हुनुहुन्थ्यो नि ! आफू प्रमुख हुँदा मातहतका कसैले गल्ती गर्यो वा बिरायो भने ‘बिराएछ’ भनेर भन्न सक्नुपर्छ ।”
फरक प्रसङ्गमा सांसद पुनले संसद्मा विभिन्न माननीय सदस्यले जन-चासोका विषयमा राखेका मागहरूलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो । संसद्मा उठेका विषयलाई सम्बोधन गरेर अघि बढ्नुको विकल्प सरकारसँग नरहेको उहाँको ठम्याइ छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
