04/05/2026, 16:59:13
आइतबार, चैत २२, २०८२

मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध


सुरुङ्गा (झापा), चैत १६ गते ।पहिरो पन्छाएर गए रातिदेखि एकतर्फी रूपमा सञ्चालन भएको मेची राजमार्गमा सोमबार बिहान पुनः पहिरो खसेसँगै अवरुद्ध भएको छ ।

यसअघिको पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा आएको सडकमा बिहानै फेरि पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको हो । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार आज बिहान खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । उहाँका अवरुद्ध सडक खुलाउन प्रयास जारी रहेको छ ।

यसअघि साँझ सुक्खा पहिरोका कारण अबरुद्ध भएको राजमार्ग राति १०ः५० बजेदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको थियो । तर, आज बिहान फेरि पहिरो झरेपछि अवस्था जटिल बनेको हो ।

इलामको रोङ गाउँपालिका–४ बागखोरस्थित सडक मर्मत भइरहेको स्थानमा माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेको हो । सोही क्रममा इलामबाट झापातर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४३३४ नम्बरको गोलिया बोकेको ट्रक पुरिएको प्रहरीले जनाएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..