04/05/2026, 11:47:54
आइतबार, चैत २२, २०८२

बालेन्द्र शाहले लिए प्रधानमन्त्रीको शपथ


काठमाडौँ, चैत  १३  गते । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उनलाई शपथ गराएका हुन् ।

राष्ट्रपति पौडेलले आज बिहानै नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । त्यसलगत्तै आयोजित समारोहमा उनले औपचारिक रूपमा कार्यभार सम्हाल्ने प्रक्रिया पूरा गरेका छन् ।

 

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्रीहरू लगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो । साथै, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख तथा नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरू पनि समारोहमा सहभागी थिए ।

समारोह वैदिक तथा बौद्ध परम्पराको संयोजनमा सम्पन्न गरिएको थियो । सात वटा शङ्खबाट शङ्खनाद गर्दै १०८ जना वटुकले स्वस्ति–शान्ति वाचन गरेका थिए भने १०८ बौद्ध भिक्षु लामाहरूले शुभ–मङ्गल पाठ गरेका थिए ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शाहलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..