04/11/2026, 08:33:13
शनिबार, चैत २८, २०८२

सामान्य प्रशासन मन्त्री खनालको बिदाइ सन्देश : ‘विश्वास र सहकार्यले मात्रै प्रशासनिक सुधार सम्भव’


काठमाडौँ, चैत  १३  गते । अर्थमन्त्री तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर खनालले प्रशासनिक प्रणाली सुधारका लागि पारस्परिक विश्वास, सहकार्य र सकारात्मक दृष्टिकोण अपरिहार्य हुने बताएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा शुक्रवार(आज)आयोजित बिदाइ कार्यक्रममा उनले छोटो अवधिमै पनि नीतिगत सुधार सम्भव हुने धारणा राख्दै कर्मचारीतन्त्रमा विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् ।

खनालले आफ्नो कार्यकालमा कर्मचारीसँग पारदर्शी र संवादमुखी कार्यशैली अपनाएको उल्लेख गर्दै निर्देशनभन्दा छलफल र सहमतिका आधारमा काम अघि बढाएको बताए । “नेतृत्वले कठिन अवस्थालाई पनि संवादमार्फत समाधान गर्न सक्नुपर्छ,” उनले भने, “सकारात्मक शक्तिलाई अघि बढाउँदा नकारात्मक प्रभाव आफै कमजोर बन्दै जान्छ।”

 

उनले कर्मचारी सरुवाजस्ता विषयमा अनावश्यक हस्तक्षेप नगरेको स्पष्ट पार्दै विश्वासमा आधारित कार्य संस्कृति विकास गर्न सकेमा प्रशासन प्रभावकारी बन्ने उल्लेख गरे । शंकाको वातावरणले काममा अवरोध सिर्जना गर्ने र संस्थागत छवि कमजोर पार्ने उनको भनाइ थियो ।

प्रशासनिक सुधार हतारमा नभई पर्याप्त छलफल, कानुनी आधार र प्रक्रियागत स्पष्टतासहित अघि बढाउनुपर्ने उनको धारणा थियो । वर्तमान नेतृत्वले अघि बढाएका प्रणालीगत सुधारका प्रयासले सरकारी संयन्त्रप्रति नागरिकको भरोसा बढाउने र कर्मचारीको मनोबल उच्च बनाउने विश्वास उनले व्यक्त गरे ।

खनालले आफ्नो कार्यकालमा मन्त्रालयसँग सहकार्य गर्ने सबै कर्मचारीप्रति आभार व्यक्त गर्दै आवश्यक परामर्श र सुझावका लागि भविष्यमा पनि उपलब्ध रहने बताए । “नीतिगत सुधारका विषयमा सल्लाह दिन म सधैँ तयार छु,” उनले भने ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..