04/06/2026, 15:58:32
सोमबार, चैत २३, २०८२
टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन

गुर्जा हिमालको काखमा सुन्दर गुर्जा गाउँ


गुर्जा, कात्तिक २४ : गाउँदेखि माथि शिरमा गुर्जा हिमाल र हिमालको काखमा ढुङ्गाले छाएका गुजुमुज्ज परेका परम्परागत शैलीका घर नै घरले भरिएको सानो गाउँ हो गुर्जा । गुर्जा गाउँ सुन्दर छ । धवलागिरी गाउँपालिका–१ नम्बर वडामा पर्ने गुर्जा गाउँ छन्त्याल जातीको बसोबास रहेको छ । यहाँ अझै पनि छन्त्याल जातीको मौलिक कला संस्कृति जिवित छ ।

गुर्जालीहरुको आफ्नो परम्परा,रहनसहन,खेतीबाली लगाउने शैली अझै पनि परम्परागत छ । यहाँको मुख्य आम्दानीको स्रोत कृषि,जडीबुटी र पशुपालन हो । गुर्जा गाउँ म्याग्दीको अन्तिम वस्ती हो ।

टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन’ भन्ने उखानबाट यो गाउँ परिचित छ । गुर्जा गाउँलाई हिडनभ्याली पनि भनिन्छ । गुर्जा गाउँ समुन्द्री सतहबाट २६ सय २३ मिटरको उचाईमा छ । यहाँ करिब दुईसय घरपरिवारको बसोबास छ । गुर्जामा जडीबुटी, खानी र पर्यटकीय सम्भावनाका अवसर छन् । गुर्जावासीले गाई, भैँसी, भेँडापालन, मकै,आलु र जौ उत्पादनबाट जीविकोपार्जन गर्छन ।

गुर्जा गाउँबाट गुर्जा हिमाल, ढोरपाटन र गुर्जाघाटलाई समेटेर ‘एडभेन्चर ट्रेल हब’ का रूपमा पनि विकास गर्न सकिने वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘गुर्जा आउने पर्यटकले गुर्जा हिमालको अवलोकन,छन्त्याल जातीको भेषभूषा,रहनसहन,मौलिक संस्कृतिको अध्ययन गर्न पाउँछन् ।’’

पछिल्लो समय गुर्जाको भ्रमणमा स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गरेको उहाँ बताउँनुहुन्छ । पर्यटकको सुविधाका लागि यहाँ होमस्टे पनि सञ्चालन गरिएको छ । बेनी देखि दरबाङ हुँदै मुना–लुलाङ–देउराली सम्म सवारीसाधनको यात्रा र देउरालीबाट करिब ४ घण्टाको पदयात्रा पछि गुर्जा गाउँ पुग्न सकिन्छ ।

– ठाकुरप्रसाद आचार्य