भक्तपुर, भदौ १६ गते । इतिहास एवं संस्कृतिविद्हरूले ‘खुल्ला आकाशमुनिको सङ्ग्रहालय’ का रूपमा वर्णन गर्ने भक्तपुरमा हरेक वर्ष गुन्हिपुन्ही (जनैपूर्णिमा) देखि कृष्णाष्टमीसम्म आठ रात नौ दिनसम्म रात्रिकालीन जीवन्त सांस्कृतिक प्रदर्शनी (लाइभ कन्सर्ट) सञ्चालन हुने गर्दछ। गाईजात्राको चौथो दिनदेखि भक्तपुरका टोल-टोल तथा डबलीहरूमा परम्परागत पोसाक र मुकुण्डोसहितका विविध मौलिक नाच तथा ख्याल (प्रहसन/नाटक) हरू बिनाकुनै शुल्क प्रत्यक्ष रूपमा हेर्न सकिन्छ।


यस अवधिमा साँझ ५ बजेदेखि राति १२ बजेसम्म फाकन्दली, गाइचा, माक, लाखे, देवी, भैरव, ख्याः लगायत दर्जौँ परम्परागत नाचहरू ५ वर्षका बालबालिकादेखि ७० वर्षका वृद्धवृद्धाहरूको सहभागितामा प्रदर्शन गरिन्छ। भक्तपुरका सूर्यमढी, चोछेँ र नासमना लगायतका विभिन्न स्थानमा डबली तथा मञ्चहरू बनाएर यो मेला सञ्चालन गरिने र फरक-फरक टोलीले दैनिक ठाउँ परिवर्तन गर्दै सम्पूर्ण नगरभरि नै यस्ता सांस्कृतिक प्रस्तुतिहरू देखाउने परम्परा रहेको छ।


भक्तपुरको यो वर्षको रात्रिकालीन मेला भदौ १५ देखि १९ गतेसम्म सञ्चालन हुनेछ। स्थानीय तहमा यस्ता मौलिक सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्न भक्तपुर नगरपालिकाले २०७४ सालदेखि ‘धे धे बाला कासा‘ (सांस्कृतिक प्रतियोगिता) आयोजना गर्दै आएको छ।
उत्कृष्ट प्रस्तुति दिने सांस्कृतिक टोलीहरूलाई मूल्याङ्कन गरी विश्व पर्यटन दिवसको अवसरमा नगदसहित पुरस्कृत र सम्मान गर्ने गरिएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





































