08/19/2026, 13:26:26
बुधबार, भदौ ०३, २०८३

सरकारी कुरियर सेवा ७७ वटै जिल्लामा विस्तार, घरदैलोमै सरकारी कागजात


काठमाडौं, भदौ ३ गते । हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री बनाउने सरकारको अभियानअन्तर्गत ‘सरकारी कुरियर सेवा’ ७७ वटै जिल्लामा पुगेको छ। हुम्लामा जिल्ला हुलाक कार्यालय र जिल्ला प्रशासन कार्यालयबीच सरकारी कागजात घरदैलोमा पुर्‍याउने सम्झौता भएपछि सेवा देशभर विस्तार भएको हो।

सरकारको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ अन्तर्गत हुलाकलाई सरकारी कागजात तथा सामग्री ढुवानी गर्ने र नागरिकको घरदैलोसम्म सेवा पुर्‍याउने माध्यमका रूपमा विकास गर्न थालिएको हो। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवाको रूपान्तरणलाई आफ्नो प्राथमिकताको कामका रूपमा अघि बढाउँदै आउनुभएको छ।

यसअघि सरकारी हुलाक तथा कुरियर सेवा परम्परागत, सीमित र ढिलासुस्तीपूर्ण रहेको थियो। राहदानी, सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लगायतका सरकारी कागजात लिन सेवाग्राही स्वयं सम्बन्धित कार्यालयमा पुगेर घन्टौँ लाइन बस्नुपर्ने अवस्था थियो। अहिले भने सरकारी कागजात घरमै पुर्‍याउने प्रणाली विस्तार हुँदै गएको छ।

साढे दुई लाखभन्दा बढी राहदानी ढुवानी

हुलाक सेवा विभागका अनुसार भदौ १ गतेसम्म २ लाख ५१ हजार ५०१ थान राहदानी हुलाकमार्फत जिल्ला प्रशासन कार्यालयमा पुर्‍याइएको छ। तीमध्ये ८ हजार ७१२ थान राहदानी सेवाग्राहीको घरमै वितरण गरिएको विभागले जनाएको छ।

त्यस्तै, यातायात व्यवस्था विभागबाट प्राप्त १० लाख ३८ हजार ८०८ थान सवारीचालक अनुमतिपत्र सातै प्रदेशका यातायात कार्यालयमा पुर्‍याइएको छ। तीमध्ये १ हजार ९९ थान लाइसेन्स सेवाग्राहीको घरदैलोमै वितरण गरिएको छ।

कर्णाली प्रदेशमा सवारीचालक अनुमतिपत्र घरमै पुर्‍याउने सेवा सुरु भइसकेको छ भने सुदूरपश्चिम प्रदेशमा पनि सेवा विस्तारको तयारी भइरहेको छ।

शैक्षिक प्रमाणपत्रदेखि स्वास्थ्य सामग्रीसम्म

नेपाल खुला विश्वविद्यालयसँगको सम्झौतापछि शैक्षिक प्रमाणपत्रसमेत घरदैलोमा पुर्‍याउने सेवा सुरु भएको छ। त्रिभुवन विश्वविद्यालयसँग पनि यस्तै सेवा सञ्चालनका लागि छलफल भइरहेको छ।

हुलाक सेवाको प्रयोग स्वास्थ्य क्षेत्रमा समेत बढ्दै गएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा १७ अस्पतालका १ हजार ५१० प्रयोगशाला नमुना ढुवानी गरिएको विभागले जनाएको छ।

त्यस्तै, स्वास्थ्य, शिक्षा तथा सूचना केन्द्रका ४४ हजार १८४ सामग्री तथा स्वास्थ्य बिमा बोर्डका १४२ बोरा स्वास्थ्य सामग्री समेत हुलाकमार्फत ढुवानी गरिएको छ।

नेपाल टेलिकमका सिमकार्डबाहेकका सामग्री, जग्गाधनी पुर्जा तथा विभिन्न सरकारी कागजातसमेत हुलाकमार्फत ढुवानी गर्न थालिएको विभागले जनाएको छ।

सरकारी कुरियर सेवाको देशव्यापी विस्तारसँगै नागरिकले सरकारी कागजात लिन कार्यालयमै पुगेर लामो समय कुर्नुपर्ने बाध्यता घट्ने तथा हुलाक सेवा प्रविधिमैत्री र नागरिककेन्द्रित बन्दै जाने अपेक्षा गरिएको छ।