

ललितपुर, भदौ २ गते । ललितपुर महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवामा नयाँ पहल गर्दै चिकित्सक, नर्स तथा पारामेडिक्ससहितको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । आकस्मिक स्वास्थ्य समस्या भएका बिरामीलाई अस्पताल पुर्याउनुअघि नै घटनास्थलमै आवश्यक प्रारम्भिक उपचार उपलब्ध गराउने उद्देश्यले महानगरपालिकाले यो सेवा सुरु गरेको हो ।
महानगरपालिकाका अनुसार सेवा आवश्यक पर्ने व्यक्तिले फोन गरेपछि सम्भव भएसम्म १५ मिनेटभित्र चिकित्सक तथा स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स घटनास्थलमा पुर्याउने लक्ष्य राखिएको छ । घरमै पुगेपछि चिकित्सक र पारामेडिक्सले बिरामीको अवस्था मूल्याङ्कन गरी आवश्यक आकस्मिक उपचार गर्नेछन् । अस्पताल लैजानुपर्ने अवस्था भए बिरामीको इच्छाअनुसार उपत्यकाका जुनसुकै अस्पतालसम्म पुर्याउने व्यवस्था गरिएको छ ।
महानगरपालिकाको स्वास्थ्य आपत्कालीन सञ्चालन प्रणाली (हेल्थ इमरजेन्सी अपरेटिङ सिस्टम) का इन्चार्ज डा. छविन्द्र गैरेका अनुसार सेवाका लागि ६ जना चिकित्सक र ६ जना पारामेडिक्स परिचालन गरिएको छ । हाल दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन् । दुवै एम्बुलेन्समा भेन्टिलेटरसहित आवश्यक आकस्मिक औषधि, अक्सिजन र स्वास्थ्य उपकरण उपलब्ध छन् ।
सेवा सञ्चालनका लागि तीन जना कर्मचारीलाई फोन रिसिभ गर्ने जिम्मेवारी दिइएको छ । फोन प्राप्त भएपछि बिरामीको स्वास्थ्य समस्या र अवस्थाका आधारमा सम्बन्धित टोलीलाई तत्काल परिचालन गरिनेछ । बिरामीको घर तथा घटनास्थल पहिचान गर्न जीपीएस प्रणाली प्रयोग गरिने महानगरपालिकाले जनाएको छ ।
डा. गैरेका अनुसार महानगरपालिकाले आकस्मिक स्वास्थ्य उपचारका लागि एउटा व्यवस्थित ‘हब’ निर्माण गर्ने योजना बनाएको छ । त्यसका लागि प्रमुख सरकारी अस्पतालका आकस्मिक विभागसँग समन्वय गरी घरदेखि अस्पतालसम्मको उपचार प्रणालीलाई थप व्यवस्थित गर्ने तयारी गरिएको छ । त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र पाटन अस्पतालका आकस्मिक विभाग प्रमुखलाई सल्लाहकारका रूपमा राखिएको छ भने आकस्मिक चिकित्सा अध्ययन गरिरहेका चिकित्सकलाई पनि आवश्यकताअनुसार सेवामा परिचालन गर्ने तयारी गरिएको छ ।
‘गोल्डेन टाइम’ बचाउन सेवा महत्वपूर्ण
चिकित्सकसहितको निःशुल्क एम्बुलेन्स सेवाको शुभारम्भ गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आकस्मिक उपचारमा समयको विशेष महत्व हुने बताइन् । बिरामीका लागि प्रत्येक सेकेन्ड महत्वपूर्ण हुने भन्दै उनले घटनास्थलदेखि अस्पतालसम्म पुग्ने समय घटाउन सके गम्भीर क्षति रोक्न सकिने धारणा राखिन् ।
मन्त्री मेहताले सामान्य एम्बुलेन्स सेवाभन्दा चिकित्सक तथा स्वास्थ्यकर्मीसहितको सेवा फरक र उदाहरणीय रहेको बताइन् । ललितपुर महानगरपालिकाले सुरु गरेको यो सेवामा स्वास्थ्य मन्त्रालयले आवश्यक सहकार्य गर्न चाहेको पनि उनले जानकारी दिइन् ।
फिलिपिन्सबाट प्रभावित भएर अवधारणा
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले फिलिपिन्सको माकाती सहर भ्रमणका क्रममा चिकित्सकसहितको एम्बुलेन्स सेवा देखेपछि ललितपुरमा पनि यस्तै सेवा सुरु गर्ने अवधारणा बनेको बताए ।
उनका अनुसार महानगरपालिकाको नवौँ नगरसभाबाट प्रस्ताव पारित गरेपछि बजेट, कार्यविधि, जनशक्ति, एम्बुलेन्स, प्राविधिक प्रणाली तथा अस्पतालसँगको समन्वयलगायत विषयमा तयारी गरेर सेवा सञ्चालनमा ल्याइएको हो ।
महर्जनले आकस्मिक बिरामीलाई केवल अस्पतालसम्म पुर्याउने पुरानो शैलीबाट मात्र प्रभावकारी स्वास्थ्य सेवा दिन नसकिने महसुस भएपछि घटनास्थलमै चिकित्सकीय सेवा उपलब्ध गराउने अवधारणा अघि बढाइएको बताए ।
प्रि–हस्पिटल केयरमा सुधार हुने विश्वास
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नविशमानसिंह प्रधानले चिकित्सकसहितको एम्बुलेन्स सेवा बिरामीको प्रि–हस्पिटल केयर सुधार गर्ने महत्वपूर्ण पहल भएको बताए ।
उनका अनुसार अधिकांश स्थानमा एम्बुलेन्समा पारामेडिक्स वा इमर्जेन्सी मेडिकल टेक्निसियन रहने भए पनि चिकित्सकसहितको एम्बुलेन्स सेवा निकै सीमित स्थानमा मात्रै सञ्चालनमा रहेको छ । ललितपुर महानगरपालिकाले सुरु गरेको सेवाबाट अस्पताल पुग्नुअघि नै बिरामीले आवश्यक उपचार पाउने भएकाले आकस्मिक स्वास्थ्य सेवामा उल्लेखनीय सुधार हुने उनको विश्वास छ ।
महानगरपालिकाले यो सेवा विशेषगरी हृदयघात, स्ट्रोक, दुर्घटना, गम्भीर चोटपटक, श्वासप्रश्वासमा समस्या तथा अन्य आकस्मिक स्वास्थ्य अवस्थाका बिरामीका लागि केन्द्रित गर्ने जनाएको छ ।
यस सेवाले अस्पताल पुग्नुअघि नै उपचार सुरु गर्ने भएकाले आकस्मिक अवस्थामा बिरामीको जीवन जोगाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




















