

गार्डेन सिटी, साउन ३० गते । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पूर्ण रूपमा पराजित गर्ने दाबी गर्दै मध्यपूर्वको महत्त्वपूर्ण ऊर्जा ढुवानी मार्ग ‘स्ट्रेट अफ होर्मुज’ लाई चाँडै अमेरिकी भू-भागको हिस्सा घोषणा गर्ने बताउनुभएको छ। न्युयोर्कको एक प्रहरी एकेडेमीमा आयोजित राजनीतिक सभालाई सम्बोधन गर्दै ट्रम्पले इरानविरुद्धको युद्धपछि उक्त जलमार्गमाथि अमेरिकी नियन्त्रण रहने र त्यसलाई अमेरिकी भू-भाग घोषणा गरिने दाबी गर्नुभयो। यद्यपि, वाल स्ट्रिट जर्नलका अनुसार ह्वाइट हाउसका अधिकारीहरूले राष्ट्रपति ट्रम्पको उक्त अभिव्यक्ति ठट्टा मात्र भएको स्पष्ट पारेका छन्।
ट्रम्पको यो दाबीप्रति इरानले तीव्र आपत्ति जनाउँदै कडा प्रतिवाद गरेको छ। इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत प्रतिक्रिया दिँदै ‘स्ट्रेट अफ होर्मुज इरानी थियो, इरानी हो र इरानी नै रहनेछ’ भन्दै कडा चेतावनी दिनुभएको छ। उहाँले उक्त जलमार्ग खुल्ने वा बन्द हुने कुरा इरानको निर्णयमा मात्र निर्भर रहने दाबी गर्नुभएको छ। गत फेब्रुअरी २८ देखि इजरायलसँग मिलेर अमेरिकाले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि तेहरानले उक्त जलमार्गमा आफ्नो व्यावहारिक नियन्त्रण कायम रहेको दाबी गर्दै आएको छ।
विश्वको अत्यन्तै संवेदनशील र महत्त्वपूर्ण समुद्री ऊर्जा मार्ग ‘स्ट्रेट अफ होर्मुज’ लाई लिएर अमेरिका र इरानबिच तनाव चरम उत्कर्षमा पुगेको छ। इरानले अधिकांश नागरिक जहाजको आवागमनमा रोक लगाएको छ भने अमेरिकी नौसेनाले जलमार्गमा नाकाबन्दी बढाएको छ। ट्रम्पले अमेरिकी इच्छाबिना कुनै पनि जहाज त्यहाँबाट आउजाउ गर्न नसक्ने दाबी गरिरहँदा यो विवादले मध्यपूर्वको सुरक्षा र विश्वव्यापी इन्धन आपूर्तिमा थप अन्योलता सिर्जना गरेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




























