07/09/2026, 07:55:39
बिहिबार, असार २५, २०८३

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अनुगमनका लागि ऊर्जा मन्त्रालयले ल्यायो डिजिटल पोर्टल


काठमाडौँ, असार २५ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूको वास्तविक समयमा (Real-time) अनुगमन गर्न एकीकृत डिजिटल अनुगमन पोर्टल सञ्चालनमा ल्याएको छ।

पहिलो चरणमा सिक्टा, रानीजमरा–कुलरिया, भेरी–बबई, सुनकोशी–मरिण, महाकाली र बबई सिँचाइ आयोजनालाई यस पोर्टलमा समावेश गरिएको छ।

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले हालै गरेका स्थलगत निरीक्षणपछि आयोजना व्यवस्थापनलाई अझ बढी प्रभावकारी र जिम्मेवार बनाउन यो डिजिटल प्रणाली कार्यान्वयनमा ल्याइएको हो। अब मन्त्री तथा मन्त्रालयका सचिवले आफ्नै कार्यकक्षबाट आयोजनाहरूको भौतिक तथा वित्तीय प्रगति, बजेट खर्च, ठेक्का व्यवस्थापन र स्थलगत समस्याहरू प्रत्यक्ष रूपमा निगरानी गर्न सक्नेछन्।

विशेष गरी पटक–पटक म्याद थपिएका आयोजनाहरूको प्रगति मूल्याङ्कन गर्न मन्त्रालयलाई सहज हुने अपेक्षा गरिएको छ। नयाँ व्यवस्था अनुसार अब प्रत्येक आयोजना प्रमुखले हरेक साता भौतिक प्रगति, वित्तीय अवस्था, ठेक्का कार्यान्वयन र देखिएका अवरोधहरूको विस्तृत विवरण अनिवार्य रूपमा यस पोर्टलमा अपडेट गर्नुपर्नेछ।