06/21/2026, 14:27:55
आइतबार, असार ०७, २०८३

रास्वपाको पहिलो महाधिवेशनका लागि प्रधानमन्त्री बालेन शाह परिवारसहित चितवनमा, राजनीतिक भेटघाट र तयारी तीव्र


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन शाह आइतबार परिवारसहित चितवन आइपुग्नुभएको छ। उहाँ केहीबेरअघि भरतपुर विमानस्थलमा अवतरण गर्नुभएको हो। विमानस्थलमा प्रधानमन्त्री शाहलाई स्वागत गर्न पार्टीका नेता, कार्यकर्ता र समर्थकहरूको उल्लेख्य उपस्थिति देखिएको थियो। विमानस्थलबाट बाहिरिने क्रममा उहाँ आफ्नी छोरीलाई काखमा लिएर देखिनुभएको दृश्यले सहभागीहरूको ध्यान आकर्षित गरेको थियो।

उद्घाटन सत्रमा प्रमुख राजनीतिक नेतृत्वको उपस्थिती

रास्वपाको ऐतिहासिक पहिलो महाधिवेशनको उद्घाटन प्रधानमन्त्री बालेन शाह र पार्टी सभापति रवि लामिछानेले संयुक्त रूपमा गर्ने कार्यक्रम तय गरिएको छ। उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना मन्तव्य दिने कार्यक्रम रहेको छ। यसबीच, सुरुवाती योजनाअनुसार नेपाली कांग्रेसबाट उपसभापति पुष्पा भुसाललाई प्रतिनिधिका रूपमा पठाउने तयारी भए पनि अन्तिम समयमा सभापति गगन थापा स्वयं सहभागी हुने निर्णयमा पुग्नुभएको जनाइएको छ। सामाजिक सञ्जालमा उठेको बहस र आलोचनापछि कांग्रेसले प्रतिनिधित्वको स्तर परिवर्तन गरेको स्रोतको भनाइ छ। यसअघि सभापति थापाले सामाजिक सञ्जालमार्फत महाधिवेशनको शुभकामना व्यक्त गर्दै पार्टीको प्रतिनिधित्वबारे जानकारी सार्वजनिक गर्नुभएको थियो।

केही शीर्ष नेताको अनुपस्थिति, अन्य दलको सक्रिय सहभागिता

रास्वपाले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई उद्घाटन समारोहमा निमन्त्रणा गरेको भए पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित नहुने कार्यक्रम रहेको छ। एमालेको तर्फबाट प्रदीप ज्ञवाली तथा माओवादी केन्द्रबाट वर्षमान पुनले प्रतिनिधित्व गर्ने बताइएको छ। त्यस्तै, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव तथा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि कार्यक्रममा सहभागी हुने जनाइएको छ।

तीनदिने महाधिवेशन, विधान संशोधन र नेतृत्व चयन

आज उद्घाटन हुने महाधिवेशन असार ८ र ९ गते बन्द सत्र तथा निर्वाचन प्रक्रियासहित सञ्चालन हुनेछ। महाधिवेशनबाट पार्टीको नयाँ विधान पारित गरिने तयारी छ। यसपटक विधान संशोधनमार्फत समावेश गरिएको ‘वरिष्ठ नेता’ पदमा भने निर्वाचन नहुने व्यवस्था गरिएको छ। उक्त पदमा प्रधानमन्त्री बालेन शाहलाई निरन्तरता दिने तयारी गरिएको बताइएको छ। पार्टी निर्वाचन आयोगका अनुसार वरिष्ठ नेता पद प्रत्यक्ष निर्वाचनबाट चयन नहुने भएकाले उक्त पदमा रहने व्यक्तिले केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धा गर्नुपर्ने छैन। संशोधित संरचनाअनुसार पार्टीको केन्द्रीय समिति १५८ सदस्यीय र पदाधिकारी संख्या १९ सदस्यीय हुनेछ। निर्वाचन प्रक्रिया भने दुई चरणमा सम्पन्न गरिनेछ—पहिलो चरणमा सभापति र केन्द्रीय सदस्य चयन तथा दोस्रो चरणमा निर्वाचित सदस्यहरूमध्येबाट पदाधिकारी चयन गरिने व्यवस्था गरिएको छ।

महाधिवेशनस्थलमा डिडिसीको आकर्षण

भरतपुरस्थित महाधिवेशनस्थल गेस्ट हाउस चौरमा दुग्ध विकास संस्थान (डिडिसी) ले प्रचारात्मक स्टल सञ्चालन गरेको छ। स्टलमा प्रधानमन्त्री बालेन शाहले डिडिसीका उत्पादन सेवन गरेको तस्बिरलाई विशेष रूपमा प्रदर्शन गरिएको छ। बिहानैदेखि महाधिवेशनमा आएका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति स्टलमा देखिएको आयोजक पक्षले जनाएको छ।

२०७९ असार ७ गते स्थापना भएको रास्वपाले स्थापना भएको चार वर्षपछि पहिलो पटक महाधिवेशन आयोजना गरेको हो। छोटो समयमै संसदीय राजनीतिमा प्रभावशाली उपस्थिति बनाएको पार्टीले अब संगठनात्मक संरचना थप व्यवस्थित गर्ने तयारी गरेको जनाएको छ।