05/25/2026, 10:01:54
सोमबार, जेठ ११, २०८३

रास्वपा बन्दीपुर गाउँ समितिको सभापतिमा शम्भु श्रेष्ठ चयन


तनहुँ, जेठ ११ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बन्दीपुर गाउँ समितिको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले शम्भु श्रेष्ठको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिको उपसभापतिमा तुलबहादुर गुरुङ, सचिवमा सुमित गुरुङ, सहसचिवमा भीमबहादुर गुरुङ र कोषाध्यक्षमा जमुना गुरुङ चयन हुनुभएको छ । यसैगरी सदस्यहरूमा नवीन भट्टराई, हरिमाया रेग्मी, प्रमिला विश्वकर्मा र कलावती भट्टराई चयन हुनुभएको छ ।

अधिवेशनको आइतबार उद्घाटन सत्रमा बोल्नुहुँदै रास्वपाका केन्द्रीय सदस्य आँशुतोष प्रधानले पार्टीको संगठन सुदृढीकरण नै वर्तमानको मुख्य आवश्यकता रहेको बताउनुभयो । उहाँले जनताको आशा र भरोसालाई टुट्न नदिने गरी स्थानीय स्तरमै जनमुखी काम गर्न नयाँ कार्यसमितिलाई आग्रह गर्नुभयो ।

यस्तै, रास्वपाका तनहुँ जिल्ला सभापति विश्व बास्तोलाले जिल्लाका सबै स्थानीय तहमा संगठन विस्तारलाई तीव्रता दिइएको उल्लेख गर्नुभयो । उहाँले नवनिर्वाचित समितिलाई शुभकामना दिँदै बन्दीपुर गाउँपालिकाको समृद्धि र स्थानीय नागरिकका समस्या समाधानमा पार्टीले रचनात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

– अमरराज नहर्की