05/21/2026, 11:19:27
बिहिबार, जेठ ०७, २०८३

फेवातालमा पानीजन्य विपद् उद्धार अभ्यास सम्पन्न


माछापुच्छ्रे (कास्की), जेठ ७ गते । बिहीबार बिहान करिब ८ः४५ बजेको थियो । फेवातालको शान्त पानीमा पर्यटकहरू डुंगा चढेर बिहानको आनन्द लिइरहेका थिए । त्यसैबेला अचानक एउटा मोटरबोट तीव्र गतिमा आयो । मोटरबोटले उठाएको ठूलो छालका कारण पर्यटक चढेको डुंगा एकाएक पल्टियो ।

“बचाउ… बचाउ…!” भन्ने आवाज तालको बीचबाट सुनियो । वरपर रहेका मानिसहरू सतर्क भए । स्थिति तनावपूर्ण बन्यो । तर ताल किनारमा तैनाथ उद्धार टोली एक सेकेन्ड पनि ढिला नगरी तत्काल उद्धारमा खटियो ।

उद्धारकर्मीहरूले तालमा खसेका व्यक्तिहरूलाई तत्काल पानीबाट बाहिर निकाले । त्यही क्रममा अर्को आवाज आयो, “एक जना अझै हराइरहेका छन्, खोज्नुपर्छ ।” त्यसपछि विशेष गोताखोर टोली फेवातालको गहिराइमा पुगेर खोजतलास गरी ती व्यक्तिलाई पनि सकुशल बाहिर निकाल्यो ।

ताल किनारमा उपस्थित सबैले राहतको सास फेरे । तर यो कुनै वास्तविक दुर्घटना नभई पानीजन्य विपदबाट उद्धार कसरी गर्ने भन्ने विषयमा गरिएको जीवन्त संयुक्त अभ्यास (सिमुलेसन) थियो ।

जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजना तथा जिल्ला विपद् व्यवस्थापन निकायहरूको सहकार्यमा फेवाताल किनारमा “उद्धार सम्बन्धी संयुक्त अभ्यास–२०८३” सञ्चालन गरिएको हो । “विपद् आकस्मिक र अप्रत्याशित रूपमा आउँछ, पूर्वतयारी गरौँ र सुरक्षित बनौँ” भन्ने मूल नाराका साथ अभ्यास गरिएको थियो ।

उक्त अभ्यासको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नुभएको थियो । उहाँले विपद् व्यवस्थापनका लागि पूर्वतयारी, समन्वय र समुदायस्तरको सचेतना अत्यन्त आवश्यक रहेको बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरी प्रत्येक वर्ष विपद् पूर्वतयारी तथा कृत्रिम अभ्यास कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । उहाँका अनुसार विपद् उद्धार सामग्री खरिद, राहत वितरण, गोताखोर तालिम, कम्युनिटी सर्च एन्ड रेस्क्यू तालिम तथा विपद् व्यवस्थापन सिमुलेसन अभ्यास नियमित रूपमा सञ्चालन हुँदै आएका छन् ।

पानीजन्य विपदबाट हुने क्षति न्यूनीकरण गर्न अभ्यास गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । अभ्यासमा कृष्णदल गण फूलबारी ब्यारेक पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र सशस्त्र प्रहरी बल कालिका गणको संयुक्त सहकार्य रहेको थियो ।

कार्यक्रममा सुरक्षा निकायका उच्च अधिकारी, उद्धारकर्मी तथा स्थानीयवासीहरूको उपस्थिति थियो । विपद्को समयमा छिटो र प्रभावकारी उद्धार कसरी गर्न सकिन्छ भन्ने अभ्यास टोलीले व्यवहारिक रूपमा प्रस्तुत गरेको थियो । वर्षायाम नजिकिँदै गर्दा ‘तालै तालको सहर’ पोखरामा यस्ता अभ्यासले विपद् जोखिम न्यूनीकरणमा सहयोग पुग्ने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रागंत बरालले बताउनुभयो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..