05/18/2026, 09:46:48
सोमबार, जेठ ०४, २०८३

प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान


काठमाडौँ, जेठ ३ गते । प्रधानमन्त्री वालेन्द्र शाहले ३२औँ पटक सगरमाथाको सफल आरोहण गर्नुभएका कामी रिता शेर्पा र ११औँ पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री शाहले आरोहीहरुको यो सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास लिएको बताउनुभएको छ ।

शेर्पाले आज बिहान १०:१२ बजे सगरमाथाको ३२औँ पटक सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान पुनः नवीकरण गर्नुभएको हो । “विश्वको सर्वोच्च शिखर सगरमाथा केवल एउटा भौगोलिक उचाइको अवयव मात्रै होइन, नेपालको आत्मसम्मान, साहस, धैर्य र हिमाली सभ्यताको सर्वोच्च प्रतीक हो। यही गौरवशाली हिमालमाथि आज नेपाली आरोहीहरूले पुनः इतिहास लेखेका छन्”, प्रधानमन्त्रीले भन्नुभएको छ ।

साथै, ‘माउन्टेन क्विन’का रूपमा परिचित लाक्पा शेर्पाले आजै बिहान ९:३० बजे ११औं पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कायम गर्नुभएको छ ।

निरन्तरको अदम्य साहस, कठोर आत्मअनुशासन र कर्मप्रतिको इमानदार समर्पणले मात्रै यस्तो ऐतिहासिक सफलता प्राप्त हुन सक्दछ”, प्रधानमन्त्री शाहले भन्नुभएको छ, “खुसीको यो क्षणलाई सबैजनासँग साझा गर्दै दुवै जना आरोहीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

नेपालको पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण र अनुपम रहेको उहाँको भनाइ छ । हिमाललाई ईश्वर झैं पुजन गर्ने, जोखिमलाई जिम्मेवारीका रूपमा स्वीकार गर्ने, र विश्वभरका आरोहीलाई सुरक्षित रूपमा शिखरसम्म पुर्‍याउने शेर्पाहरू वास्तवमै हिमालयका अदृश्य नायक भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले उनीहरूको साहस, ज्ञान र श्रम बिना हिमालको गौरव अधुरो रहने बताउनुभएको छ ।

सम्पूर्ण नेपालीको तर्फबाट कामी रिता शेर्पा, लाक्पा शेर्पा तथा सम्पूर्ण आरोही, शेर्पा समुदाय र पर्वतारोहण क्षेत्रमा समर्पित सबैप्रति हार्दिक बधाई तथा उच्च सम्मान व्यक्त गर्दछु”, प्रधानमन्त्रीले भन्नुभएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..