काठमाडौँ, वैशाख ३० गते । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने भारतीय पर्यटकसम्बन्धी यात्रा नियमबारे विभिन्न सञ्चार-माध्यम तथा अनलाइन प्लटफर्ममा फैलाइएका अपुष्ट र भ्रामक समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
बुधबार जारी प्रेस विज्ञप्तिमा बोर्डले नेपाल–भारत सीमाबाट नेपाल प्रवेश गर्ने भारतीय नागरिकका लागि अनिवार्य परिचयपत्र लागु गरिएको, भारतीय पर्यटकको बसाइ अवधि ३० दिनमा सीमित गरिएको वा समयावधि नाघेमा सवारीसाधन जफत गरिने जस्ता दाबीहरू पूर्ण रूपमा झुटा, निराधार र भ्रामक रहेको स्पष्ट पारेको छ।
‘भारतीय पर्यटकको बसाइ अवधिमा कुनै नयाँ प्रतिबन्ध लगाइएको छैन भने नेपाल–भारतबीच लामो समयदेखि कायम खुला सीमा व्यवस्था तथा द्विपक्षीय समझदारीमा पनि कुनै परिवर्तन गरिएको छैन,’ बोर्डले बुधबार विज्ञप्ति जारी गर्दै भनेको छ ।
नेपाल र भारतबीचको ऐतिहासिक जनस्तरको सम्बन्ध, सांस्कृतिक निकटता तथा पर्यटन सहकार्य अझै पनि मजबुत र यथावत रहेको बोर्डले विज्ञप्तिमा उल्लेख गरेको छ।
त्यसैगरी, बोर्डले भारतसहित अन्य मुलुकबाट निजी सवारीसाधनमार्फत स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने पर्यटकका लागि यात्रा प्रक्रिया सहज बनाउन नेपाल सरकारले हालै नयाँ अनलाइन सहजीकरण प्रणाली सुरु गरेको जानकारी दिएको छ ।
अर्थ मन्त्रालयअन्तर्गतको भन्सार विभागले विकास गरेको उक्त डिजिटल प्रणालीमार्फत विदेशी सवारीसाधनले नेपाल प्रवेश गर्दा आवश्यक अस्थायी प्रवेश अनुमति तथा राजस्व भुक्तानी अब अनलाइनबाटै गर्न सकिने व्यवस्था गरिएको छ । यस कदमले सीमाक्षेत्रमा हुने झन्झट कम गर्नुका साथै पर्यटकको समग्र यात्रा अनुभवलाई थप सहज बनाउने विश्वास गरिएको छ ।
नेपाल पर्यटन बोर्डले सञ्चार-माध्यम, डिजिटल प्लाटफर्म, पर्यटन व्यवसायी तथा सर्वसाधारणलाई अपुष्ट सूचना नफैलाउन तथा पर्यटन नीति र यात्रा नियमसम्बन्धी जानकारीका लागि केवल सरकारी आधिकारिक स्रोतहरूमा भर पर्न आग्रह गरेको छ ।
बोर्डले नेपाल भारतीय तथा विश्वभरका पर्यटकका लागि सुरक्षित, आतिथ्यपूर्ण र मैत्रीपूर्ण गन्तव्य रहेको उल्लेख गर्दै नेपाल सरकारले सहज सीमापार आवागमन, दिगो पर्यटन प्रवर्द्धन तथा गुणस्तरीय पर्यटकीय अनुभव विस्तारमा प्रतिबद्ध रहेको जनाएको छ।


– सुरज कुँवर
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










































