05/08/2026, 18:25:13
शुक्रबार, बैशाख २५, २०८३

बेलायतमा नेपाली खाना ‘फ्यूजन’ गर्दै रोशदिप राई


काठमाडौँ, वैशाख २५ गते । बेलायतमा बस्दै आएका युवा रोशदिप राई अहिले सामाजिक सञ्जालमा चर्चामा छन् । उनले बनाएको ‘पोर्क मोमो–टा–को फ्यूजन’ अहिले भाइरल भइरहेको छ । मेक्सिकन टा–को र नेपाली मोमोको स्वाद मिसाइएको यो परिकारलाई धेरैले रुचाएका छन् । आधुनिक परिकारलाई नेपाली स्वाद दिएको भन्दै खानाप्रेमीहरूको ध्यान तानिरहेको छ । परम्परागत मोमोको किमालाई भाँडामा पकाउनुको सट्टा प्यानमा सेकाएर तयार गरेकाले यो परिकारलाई दर्शकहरूले निकै रुचाएका छन् ।

राई सामाजिक सञ्जालमा खाना पकाउने विधि (रेसिपी) मात्रै देखाउँदैनन् । त्यससँग जोडिएका कथा पनि सुनाउँछन् । जसले नेपाली परम्परा र आधुनिक परिकालाई जोड्ने गर्छ । उनका भिडियोहरूमा बाल्यकाल, परिवार, विदेश बसाईदेखि परिकारको रेसिपीसम्म देख्न सकिन्छ । उनले सामाजिक सञ्जालमा विदेशी र नेपालीपनको भाव मिसिएको हुन्छ ।

उनलाई सानैदेखि खानाप्रति शौख थियो । धरानमा मसलेदार स्ट्रीट फुड, मोमो र थुक्पाको स्वाद लिँदै उनी हुर्किए । खानाप्रतिको शौखलाई नै उनले करिअरको रुपमा अगााडि बढाए । उनले भने, ‘सानैदेखि खानाप्रति रुचि थियो, नयाँ नयाँ परिकार खान रुचि राख्थेँ । अरु काम गर्दा पनि मेरो ध्यान भान्सामै मात्रा जान्थ्यो ।’ त्यो रुचिलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने प्रयास गरेको उनले बताए । राईका अन्य मिक्स रेसिपीहरु पनि उत्तिकै भाइरल छन् । जिम्बु र च्याउका ‘रिसोटो’ ले हिमाली जडीबुटी जिम्बुलाई इटालीयन परिकारसँग मिलाएर नयाँ स्वाद दिएका छन् । ‘सेल मोची’ नेपाली सेलरोटीको घरेलु स्वाद र जापानी मोचीको स्वादमा प्रस्तुत गरेका छन् ।

उनले खानालाई नयाँ स्वाद पस्किनुअघि धेरै सोच्छन्, योजना बनाउछन् अनि मात्रै अघि सर्छन् । कहिले उनलाई हिड्दा हिड्दैँ रेसिपी फुर्छ त कहिले लामो रिसर्च गर्छन् । फ्यूजन रेसिपीबारे उनले भने, ‘नयाँ परिकारका आइडिया भान्सामा मात्र होइन, हिँड्दा, कुकुर डुलाउँदा वा लामो दौडमा निस्कदा पनि आउने गर्छ । नेपाली परिकारलाई कसरी अन्तर्राष्ट्रिय स्वादसँग मिलाउने भन्ने बढी सोच्छु ।’  उनका अनुसार फ्यूजन खाना बनाउनु भनेको केवल दुई भिन्न संस्कृतिको स्वाद मिसाउनु मात्रै होइन, बरु नेपाली स्वादको मौलिकता जोगाउँदै त्यसलाई नयाँ परिकारका रुपमा पस्कनु हो । उनले भने  ‘जहाँ पुगे पनि नेपाली स्वादलाई जोगाइराख्नु मेरो उद्देश्य हो ।

हामीमध्ये धेरैले ‘करी’ भन्ने शब्द प्रयोग गर्छौं, जस्तै भारतीय करीहरू, तर हाम्रो खानामा त्यसरी भन्न मिल्दैन, हैन र ?,’ राई भन्छन् । हाम्रो परिकारहरूमा फरक–फरक प्रविधि र स्वादको संयोजन प्रयोग हुन्छ, त्यसैले तिनका आफ्नै पहिचान हुन्छन् । उनी यही कुरामा विश्वास गर्छन् । हामीले दैनिक खानामा प्रयोग गर्ने सामग्रीहरूको हकमा पनि यही लागु हुन्छ ।

नेपाली सामग्रीहरू वास्तवमै धेरै विशिष्ट छन् । जस्तै टिमुर, यो चिनियाँ सिचुआन पेपर (खुर्सानी)सँग मिल्दोजुल्दो छ । तर, उही होइन, हो र ? यसमा फरक किसिमको अमिलो र झनझनाउने स्वाद हुन्छ । जब हामी टिमुर पनि सिचुआन पेपर जस्तै हो भनेर सामान्य रूपमा बुझ्छौं, त्यो गलत हुन्छ,’ उनी भन्छन् ।

अर्को शब्दमा भन्नुपर्दा, विशेष शब्दहरूलाई सामान्यीकरण गर्दा पुस्तौंदेखि स्थानीय सामग्रीहरूले बोकेको मौलिकता हराउने जोखिम हुन्छ ।

वर्षौंदेखि मास्टरसेफका सिजनहरू हेर्दै घरमै खाना बनाइरहेका उनी आफ्नो रुचिलाई वास्तविकतामा बदल्न चाहन्थे । त्यसपछि उनले आवेदन दिए र अडिसनमा सहभागी भए । अन्ततः वास्तविक प्रतिस्पर्धामा आफ्नो पाककला प्रस्तुत गर्ने अवसर पाए । यद्यपि, उनी आफ्नो भान्सामा आधुनिक नेपाली नयाँ परिकारहरू बनाउँछन्, शोमा उनले बनाएका केही परिकारहरू भने बाल्यकालमा खाएको स्वाद सम्झाउने र स्वादिला स्थानीय परिकार थिए ।

प्रतियोगितामा उनले तिखो स्वाद भएको टिमुर पोर्क बेलीदेखि माटोको स्वाद आउने जिम्बु बोडी दाल र गाजर पुलाउसम्म बनाएर निर्णायकहरू, प्रतिस्पर्धीहरू र दर्शकहरू सामु प्रस्तुत गरे ।

विश्वभरका नेपालीले सम्पर्क गरिरहेका छन् र राम्रा प्रतिक्रिया दिइरहेका छन्,’ राई भन्छन्, ‘जसले सामाजिक सञ्जालमा धेरैको ध्यान तानिरहेको छ ।’  मानिसहरूले ‘आफूले खाने खाना यस्तो अन्तर्राष्ट्रिय मञ्चमा देखिनु र मन पराइला भनेर कहिल्यै कल्पना नगरेको’ जस्ता कमेन्ट गरिरहेका छन् ।

उनले पहिलोपटक प्रयास गरेको एउटा रेसिपी मसाला चिया अमेरिकन प्यानकेक थियो । जुन शोमा योजना अनुसार सफल भएन । तर, उनी यस्ता प्रयासहरूलाई असफलता नभई सिक्ने अवसरका रूपमा हेर्छन् । अहिले उनले त्यस रेसिपीलाई परिमार्जन गरिसकेका छन् । उनी विश्वास गर्छन् कि प्रयास र गल्ती खाना बनाउनेहरूका लागि सबैभन्दा महत्वपूर्ण आधार हो ।

उनी नेपाली खाना बनाउने तरिका र बेलायती तयारीमा फरक रहेको बताउँछन् । विशेषगरी प्रयोग हुने सामग्रीका हिसाबले । मास्टरसेफ यूके २०२६ का क्वार्टरफाइनालिष्ट राईले निर्णायकहरू समक्ष जिम्बु र टिमुरजस्ता सामग्री समेत प्रयोग गरेका थिए । जसले निर्णायकहरूलाई समेत चकित बनायो ।

निर्णायकहरूले त्यस्ता मसला पहिले कहिल्यै चाखेका रहेनछन् । नयाँ स्वाद आएपछि उनीहरू छक्क परे,’ उनी भन्छन् ।

सेफ सन्तोष शाहबाट प्रेरित राई नेपाली खानालाई विश्व मञ्चमा प्रतिनिधित्व गराउन चाहन्छन् । नेपाली पाक–सम्पदालाई अन्तर्राष्ट्रिय दर्शकमाँझ पुर्‍याउन चाहन्छन् । उनी भन्छन्, ‘मैले बनाएको खानामार्फत मुस्ताङमा जिम्बु खेती गर्नेहरूदेखि मकै पोलेर बेच्नेहरूसम्मको कथा सुनाउन चाहन्छु ।’ यही पाककलामार्फत मानिसहरूलाई नेपालतर्फको यात्रा गराउने उनको सोचाइ छ ।

– मोक्षदा थापा