05/05/2026, 19:03:33
मङ्गलबार, बैशाख २२, २०८३

एअर इन्डिया दुर्घटनामा विद्युतीय त्रुटिको आशङ्का


मुम्बई, वैशाख २२ गते । गत वर्ष भएको एअर इन्डियाको भीषण विमान दुर्घटनाबारे पुनः गहिरो अनुसन्धानको माग गर्दै भारतीय पाइलटको एक समूहले उड्डयन मन्त्रालयमा औपचारिक पत्र बुझाएको छ । उक्त समूहले दुर्घटनाको कारण पाइलटको गल्ती नभई विद्युतीय प्रणालीमा आएको गम्भीर त्रुटि हुन सक्ने दाबी गरेको छ ।

पाँच हजारभन्दा बढी सदस्य रहेको भारतीय पाइलट महासङ्घले जुन १२, २०२५ मा भएको बोइङ ७८७-८ ड्रिमलाइनर दुर्घटनाबारे आफ्नो धारणा सार्वजनिक गर्दै अन्तिम प्रतिवेदन आउनु अघि नै थप प्राविधिक अध्ययन आवश्यक रहेको जनाएको छ । उक्त दुर्घटनामा २६० जनाको ज्यान गएको थियो र त्यसले भारतीय उड्डयन इतिहासमै ठुलो मानवीय क्षति पुर्‍याएको थियो ।

अन्तर्राष्ट्रिय कानुन अनुसार भारतको विमान दुर्घटना अनुसन्धान ब्युरोले दुर्घटनापछि जुलाई १२ मा प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको थियो । पश्चिमी भारतको अहमदाबादबाट उडान भरेको केही समयमै विमानमा आगलागी भएको उक्त घटनाले तत्कालै ठुलो आपतकालीन अवस्था सिर्जना गरेको थियो ।

१५ पृष्ठ लामो उक्त प्रारम्भिक प्रतिवेदनमा विमानको इन्धन आपूर्ति प्रणाली टक्कर हुनु केही क्षणअघि बन्द भएको उल्लेख गरिएको थियो र यसले सम्भावित पाइलट त्रुटिको प्रश्न उठाएको थियो । तर इन्धन स्विच बन्द हुनु पाइलटको कार्यका कारण हो वा प्राविधिक गडबडीका कारण हो भन्नेबारे प्रतिवेदनले स्पष्ट निष्कर्ष दिएको थिएन । भारतीय पाइलट महासङ्घले मे १ मा पठाएको पत्रमा ‘प्राविधिक नोट’ प्रस्तुत गर्दै थप अनुसन्धान आवश्यक हुने सम्भावित कारण औँल्याएको छ ।

पत्रमा उडान अघि विद्युतीय प्रणालीमा भएको गडबडीका कारण पाइलटको हस्तक्षेप बिना नै दुवै इन्जिनमा इन्धन आपूर्ति बन्द हुन सक्ने सम्भावना उल्लेख गरिएको छ । पत्रमा भनिएको छ, “उडान सुरु हुनुअघि भएको विद्युतीय गडबडीले पाइलटको कुनै पनि इनपुट बिना नै अनपेक्षित रूपमा रिले सञ्चालन र दुवै इन्जिनमा इन्धन आपूर्ति बन्द हुन सक्छ ।

महासङ्घले दुर्घटनाबारे सार्वजनिक भइरहेका केही मिडिया रिपोर्टले घटनालाई केवल पाइलटको गल्तीका रूपमा प्रस्तुत गरिरहेको भन्दै त्यसप्रति असन्तुष्टि पनि जनाएको छ । साथै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनका मापदण्ड अनुसार सबै सम्भावित प्राविधिक कारणलाई पहिले पूर्णरूपमा जाँच नगरी निष्कर्षमा पुग्न नहुने उल्लेख गरिएको छ । महासङ्घका अनुसार प्रस्तुत गरिएको विद्युतीय त्रुटिको परिकल्पनालाई परीक्षण योग्य वैज्ञानिक आधारमा विस्तृतरूपमा विश्लेषण गर्न आवश्यक छ ।

जबसम्म यस्तो विश्लेषण पूरा हुँदैन, तबसम्म प्राविधिक कारणलाई पूर्णरूपमा अस्वीकार गर्न नसकिने उनीहरूको तर्क छ । यस दुर्घटनाको एक वर्ष पूरा हुन लाग्दा आगामी महिनासम्म अन्तिम प्रतिवेदन सार्वजनिक हुने अपेक्षा गरिएको छ । तर पाइलट समूहको यो नयाँ दाबीले अनुसन्धान प्रक्रियामा थप दबाब सिर्जना गरेको छ र दुर्घटनाको वास्तविक कारणबारे बहस पुनः चर्किएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..