काठमाडौं, वैशाख २१ गते । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले लिपुलेक–लिम्पियाधुरा–कालापानी क्षेत्रबारे भारत र चीनबीच भएको सहमतिप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको संरक्षणका लागि प्रभावकारी कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गरेको छ ।
बैठकले नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने गरी भारत र चीनबीच भएको सहमतिलाई नेपालको जानकारी र सहमतिविना गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।
कांग्रेसले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अविभाज्य भूभाग भएको पुरानै अडान दोहोर्याउँदै यस विषयमा पार्टी सधैं स्पष्ट र दृढ रहेको उल्लेख गरेको छ । ‘सन् १८१६ को सुगौली सन्धि, नेपालको ऐतिहासिक नक्सा, अभिलेख, दस्तावेज र प्रमाणको आधारमा लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायत नेपालको भूमि भएको आधिकारिक दृष्टिकोण कांग्रेसले राख्दै आएको छ,’ कांग्रेस बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेस यो दृष्टिकोण र अडानमा स्पष्ट छ । भारत र चीन दुवै देशले नेपालको सार्वभौमिकताप्रति संवेदनशील हुनेछन् भनी नेपाली कांग्रेसले विश्वास लिएको छ ।’
कांग्रेसले भारत र चीनलाई सरकारले पठाएको कूटनीतिक नोटलाई सकारात्मक रूपमा लिएको जनाएको छ । उक्त नोटमार्फत नेपालको सार्वभौमिकताको सम्मान गर्न आग्रह गरिएको सन्दर्भमा कांग्रेसले त्यसलाई उचित कदमका रूपमा व्याख्या गरेको छ ।
‘२०७७ मा नेपालको संसद्ले सर्वसम्मत रूपमा ग्रहण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा नेपालको संविधानको अंग हो । यसलाई कार्यान्वयन गरी स्वीकार्य बनाउन कुटनीतिक पहल गर्नु नेपाल सरकारको प्रमुख जिम्मेवारी भएकाले ऐतिहासिक तथ्य, नक्सा, अभिलेख, दस्तावेज र प्रमाणको आधारमा थप प्रभावकारी कूटनीतिक भूमिका निर्वाह गर्न कांग्रेस सरकारलाई विशेष अपिल गर्दछ,’ कांग्रेसको निर्णयमा उल्लेख छ, ‘सीमासम्बन्धी अत्यन्त संवेदनशील विषयमा दलगत दृष्टिकोण र राजनीतिक मतभेद भन्दामाथि उठेर राष्ट्रिय सहमति र एकता कायम गरी साझा धारणा हुनुपर्छ भन्ने कांग्रेसको स्पष्ट दृष्टिकोण छ ।’
बैठकले २०७२ सालमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा लगायत महाकाली नदीपूर्वका सबै भूभाग नेपालको भएको स्पष्ट पार्दै भारत र चीन दुवै देशलाई कूटनीतिक नोट पठाएको ऐतिहासिक तथ्य पनि स्मरण गरेको छ । त्यसबेला नेपालको सहमतिविना दुई देशबीच भएको सहमतिले ऐतिहासिक यथार्थ परिवर्तन गर्न नसक्ने भन्दै तत्काल सच्याउन आग्रह गरिएको कांग्रेसले उल्लेख गरेको छ ।
सीमाजस्तो संवेदनशील विषयमा दलगत स्वार्थ र राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा कांग्रेसले जोड दिएको छ । पार्टीले यस्तो विषयमा साझा राष्ट्रिय धारणा आवश्यक रहेको उल्लेख गर्दै एकताबद्ध रूपमा अघि बढ्न आह्वान गरेको छ ।
– कुलचन्द्र न्यौपाने
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














































