05/04/2026, 20:58:38
सोमबार, बैशाख २१, २०८३

‘प्रधानमन्त्री कार्यालय परिसरको समाचार संकलनमा अवरोध गरिएको छैन’


काठमाडौं, वैशाख २१ गते । प्रधानमन्त्री बालेन्द्र शाहले पत्रकार तथा सञ्चारकर्मीलाई भिडियो खिच्नबाट रोक्न कुनै निर्देशन नदिएको उहाँको सचिवालयले प्रष्ट पारेको छ । प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले सो कुरा प्रष्ट पार्नुहुँदै सञ्चारकर्मीलाई सूचना संकलन तथा सम्प्रेषणमा कुनै अवरोध नभएको बताउनुभएको हो ।

प्रधानमन्त्रीका प्रेस विज्ञ दाहालले वैशाख २१ गते प्रधानमन्त्रीको कार्यालय परिसरमा सञ्चारकर्मीलाई भिडियो खिच्न अवरोध गरेको विषय सत्य नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको कार्यालय प्रवेश गर्ने क्रममा कार्यालय परिसरमा सवारी साधनहरूको अत्यधिक भिड देखिएपछि उहाँले सोको व्यवस्थापन र सुरक्षा सतर्कताबारे सुरक्षाकर्मीसँग सामान्य जिज्ञासा मात्र राख्नुभएको हो । उहाँको यो चासो परिसरभित्रको सवारी व्यवस्थापन र प्रशासनिक सहजतासँग मात्र सम्बन्धित थियो।

प्रधानमन्त्री कार्यालयमा खटिएका केही सुरक्षाकर्मीले गेटमा रहेका सञ्चारकर्मीहरूलाई त्यहाँबाट हट्न भनेको भन्ने गुनासो सचिवालयमा प्राप्त भएको बताउँदै उहाँले उक्त जानकारी प्राप्त हुनासाथ सचिवालयले सम्बन्धित निकायसँग समन्वय गरी फिल्डमा रहेका सञ्चारकर्मीलाई प्रधानमन्त्री कार्यालय परिसरमा उपलब्ध गराइएको पहुँचमा कुनै पनि प्रकारको कटौती वा निषेध नगरिएको जानकारी गराइसकेको बताउनुभयो ।

प्रधानमन्त्रीको सचिवालयले भनेको छ, “जहाँ सञ्चारकर्मीहरूलाई सूचना संकलन र रिपोर्टिङका लागि अनुमति छ, त्यहाँ कुनै पनि किसिमको अवरोध भएको छैन, भविष्यमा पनि हुने छैन। सुरक्षा र व्यवस्थापनसँग जोडिएको सामान्य प्राविधिक विषयलाई प्रेसमाथिको अंकुश वा अवरोधका रूपमा अतिरञ्जित नगर्न हामी हार्दिक अनुरोध गर्दछौँ।

नेपाल सरकार प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको हक र संविधानप्रति पूर्ण प्रतिबद्ध रहेको प्रेस विज्ञ दाहालले प्रष्ट पार्नुभएको छ । सञ्चार जगतसँग सहकार्य, पारदर्शिता र सुमधुर सम्बन्ध कायम राख्दै लोकतान्त्रिक मूल्य र मान्यतालाई सुदृढ बनाउन सरकार सदैव क्रियाशील रहने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।