काठमाडौँ, वैशाख २१ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा एकैपटक ५ जना सदस्य नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ ।
मन्त्रालयले सोमबार जारी गरेको सूचना अनुसार यसअघि रिक्त ४ जना सञ्चालक सदस्य नियुक्तिका लागि प्रक्रिया सुरु गरिएको थियो । तर, बीचमै सरकारले जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ लागू भएपछि कार्यकारी निर्देशक अमृतमान श्रेष्ठ स्वतः पदमुक्त हुने अवस्था सिर्जना भयो । यससँगै अब नियुक्त गरिने सदस्य संख्या ५ कायम गरिएको हो ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता जयनारायण आचार्यका अनुसार यसअघि प्रकाशित विज्ञापनकै आधारमा नियुक्ति प्रक्रिया निरन्तर अघि बढाइनेछ र नयाँ आवेदन आह्वान गरिने छैन । यो निर्णयसँगै अब सञ्चालक समितिमा एकैपटक ५ जना सदस्य नियुक्त गरिनेछन् । नियुक्त भएका सदस्यहरूमध्येबाट सरकारले आवश्यक ठानेमा एक जनालाई कार्यकारी अध्यक्ष वा महाप्रबन्धकका रूपमा जिम्मेवारी दिन सक्नेछ ।
कानुनी व्यवस्था अनुसार निगममा कार्यकारी अध्यक्ष, कार्यकारी उपाध्यक्ष वा कार्यकारी सञ्चालक नभएको अवस्थामा नेपाल सरकारले महाप्रबन्धक नियुक्त गर्नुपर्ने प्रावधान छ । महाप्रबन्धक वा कार्यकारी पदाधिकारीको तलब, भत्ता तथा सेवा–सुविधा पनि नियुक्तिसँगै सरकारले तोक्नेछ । प्रवक्ता आचार्यका अनुसार मन्त्रीस्तरीय निर्णयबाट छनोट समिति गठन गरिनेछ । उक्त समितिले मन्त्रालयमा सोमबारसम्म प्राप्त आवेदनबाट ५ जना सदस्य छनोट गर्नेछ ।


निगमको सञ्चालक समितिमा पर्यटन र अर्थ मन्त्रालयका सहसचिवहरू पदेन सदस्य रहने व्यवस्था छ र ती दुवै पद हाल रिक्त छैनन् । निगमको महाप्रबन्धक नियुक्तिका लागि यसअघि आह्वान गरिएको विज्ञापन अनुसारको प्रक्रिया पनि निरन्तर अघि बढाइने प्रवक्ता आचार्यले जानकारी दिए ।
कानुन अनुसार सरकारले आवश्यक ठानेमा सञ्चालक समिति अधिकतम ७ सदस्यीयसम्म बनाउन सक्नेछ । यसमा वाणिज्य, अर्थ, लेखाशास्त्र, उड्डयन तथा पर्यटन प्रवर्द्धन क्षेत्रमा अनुभव भएका गैर-सरकारी व्यक्तिलाई पनि समेट्न सकिनेछ । अन्य सञ्चालक सदस्यहरूको कार्यकाल ४ वर्षको हुनेछ र पुनः नियुक्त हुन सक्नेछन् । तर, गैर-सरकारी सदस्यलाई भने सामान्यतः एक कार्यकालका लागि मात्र पुनः नियुक्त गर्न सकिने प्रावधान छ ।
त्यस्तै, सरकारले आवश्यक ठानेमा कुनै पनि सञ्चालकलाई कार्यकाल पूरा हुनुअघि नै पदबाट हटाउन सक्ने अधिकार राख्नेछ ।
– सुरज कुँवर
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












































