05/04/2026, 14:13:40
सोमबार, बैशाख २१, २०८३

लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता पोखरेल


काठमाडौँ, वैशाख २१ गते । नेपाल सरकारले लिपुलेक लगायत सीमा विवादका विषयमा आफ्नो अडान स्पष्ट रहेको र ती क्षेत्र नेपाली भूमि भएको विषयमा सरकार पूर्ण प्रतिबद्ध रहेको जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले सञ्चारकर्मीसँगको कुराकानीमा सीमा विवादसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको जानकारी दिनुभयो ।

उहाँले यो विषय अब दुई देशबिचको सहकार्य र कूटनीतिक संवादमार्फत समाधान निकाल्ने विषय भएको स्पष्ट पार्नुभयो । परराष्ट्र मन्त्रालयले जारी गरेको नोट सार्वजनिक जानकारीका लागि मात्र नभई औपचारिक रूपमा पठाइएको पत्र भएको पनि उहाँले बताउनुभयो ।

भारत सरकारले हालै जारी गरेको भनिएको वक्तव्य तथा त्यसमा नेपालले सीमा विस्तार गर्न खोजेको भन्ने आशयप्रति सङ्केत गर्दै प्रवक्ता पोखरेलले भन्नुभयो, “त्यो सीमा विस्तार गरिएको विषय होइन, ती क्षेत्र नेपालकै भूमि हुन् । यसमा सरकार स्पष्ट छ र आफ्नो अडानमा प्रतिबद्ध छ ।

मन्त्रालयहरू गाभ्ने चर्चाबारे बोल्दै उहाँले आजको मन्त्रिपरिषद् बैठकमा यस विषयमा कुनै ठोस छलफल नभएको, तर यसको प्राविधिक तथा कानुनी पक्षबारे अध्ययन भइरहेको जानकारी दिनुभयो ।

सञ्चारकर्मीको प्रवेशमा कडाइ गरिएको भन्ने जिज्ञासामा उहाँले कडाइ गरिएको नभई आन्तरिक आवतजावत र प्रवेशलाई थप सहज तथा व्यवस्थित बनाउन खोजिएको स्पष्ट पार्नुभयो ।