04/29/2026, 15:15:32
बुधबार, बैशाख १६, २०८३

ओमानद्वारा नेपाललाई ३०६ रनको विशाल लक्ष्य


काठमाडौँ, वैशाख १६ गते । कप्तान जतिन्दर सिंहको सानदार ब्याटिङमा ओमानले क्रिकेट विश्वकप लिग २ मा बुधबार नेपाललाई ३०६ रनको विशाल लक्ष्य दिएको छ । जतिन्दरले ९६ बलमा १ सय ३० रन बनाएपछि टस जितेर ब्याटिङ गरेको ओमानले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित ५० ओभर खेलि ८ विकेट गुमाई ३ सय ५ रन बनायो ।

नेपाली बलरलाई कुनै मौका नदिएका जतिन्दरले १५ चौका र ५ छक्का प्रहार गरे । उनले ९० रन बाउन्ड्रीबाटै बटुलेका थिए । उनी ३५ औं ओभरमा आउट हुँदा ओमानको स्कोर १ सय ९२ रन थियो । उनी १ सय ३० रनमा सोमपाल कामीले कठिन रिटर्न क्याच मिस गरेका थिए, त्यसको अर्को बलमा सोमपालले उनलाई बसिर अहमदबाट क्याच आउट गराए ।

एकदिवसीय अन्तर्राष्ट्रियमा यो उनको पाँचौं शतक हो र व्यक्तिगत उच्च स्कोर पनि । २०२२ मा उनले पपुवा न्यु गिनीविरुद्ध लिग २ मै यसअघि अविजित १ सय १८ रन बनाउनु यसअघिको उनको उच्च स्कोर थियो । नेपालविरुद्ध यो उनको दोस्रो शतक हो । लिग २ को पछिल्लो सर्कलमा उनले मस्कटको घरेलु मैदानमा नेपालविरुद्ध ६२ बलमा १ सय ७ रन बनाएका थिए ।

जतिन्दरले आशिष ओडेडारासँग मिलेर ओमानलाई जोडदार सुरुआत दिलाउनेक्रममा पहिलो विकेटमा ८० रन जोडे । सन्दीप लामिछानेले १५ औं ओभरमा ओडेडारालाई आउट गराएपछि यो साझेदारी तोडे । ओडेडाराले ४८ बल खेली समान १ चौका र छक्काका साथ २३ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ‘डेब्यु’ गरिरहेका नदिम खानलाई १ रनमा बोल्ड गरे ।

हमाद मिर्जाले ४७ बलमा ३० रन बनाए । चार चौका प्रहार गरेका उनलाई दीपेन्द्रले आउट गरे । आर्यन विष्ट र जितेन रमानन्दीले पाँचौं विकेटमा ४३ बलमा ५२ रनको साझेदारी गरे । विष्टलाई सन्दीपले ३५ रनमा बोल्ड गरे । उनले ३५ बल नै खेली ३ चौका र १ छक्का प्रहार गरे ।

विनायक शुक्ला १७ बलमा २३ रन बनाई आउट भए । रमानन्दीले ४३ बलमा ४३ रन बनाउनेक्रममा ४ चौका र १ छक्का प्रहार गरे । सोमपालले नेपालबाट सबैभन्दा बढी ४ विकेट लिए । उनले ९ ओभरमा ५९ रन खर्चे । सन्दीप र दीपेन्द्रले २–२ विकेट लिए । सन्दीपले १० ओभरमा २४ र दीपेन्द्रले ९ ओभरमा ५६ रन खर्चे ।

नेपालले पहिलो खेलमा यूएईलाई ३७ रनले पराजित गरेको थियो । ओमान भने पहिलो खेलमा यूएईसँग २५ रनले पराजित भएको थियो । ओमान २५ खेलमा २९ अंक जोडी तेस्रो स्थानमा र नेपाल २१ खेलमा १४ अंक जोडी सातौं स्थानमा छ ।

– विनोद पाण्डे