04/24/2026, 14:37:24
शुक्रबार, बैशाख ११, २०८३

सुकुम्बासीलाई तत्काल होल्डिङ सेन्टरमा राखिने, पहिचानपछि नागार्जुनको अपार्टमेन्टमा


काठमाडौँ, वैशाख ११  गते । काठमाडौंका विभिन्न बस्तीबाट हटाइने सुकुम्बासीलाई तत्कालका लागि केही दिन होल्डिङ सेन्टरमा राखेपछि नागार्जुनस्थित अपार्टमेन्टमा सारिने भएको छ । काठमाडौं महानगरापलिकामा प्रवक्ता नवीन मानन्धरले तत्काल होल्डिङ सेन्टरमा राखेर पहिचान भएपछि नागार्जुनमा सारिने जानकारी दिए ।

‘काठमाडौंका विभिन्न नदी, खोला किनारबाट हटाइने सुकुम्बासीलाई तत्काल विभिन्न ठाउँमा होल्डिङ सेन्टर बनाएर राखिनेछ । यसको समन्वय काठमाडौं जिल्ला प्रशासनले गरिरहेको छ,’ मानन्धरले  भने, ‘होल्डिङ सेन्टरमा वास्तविक सुकुम्बासीको पहिचान र गरेपछि बल्ल नागार्जुनस्थित अपार्टमेन्टमा राखिनेछ ।’

यसअघि डा. बाबुराम भट्टराईको पालामा नागार्जुनमा चारवटा ब्लकमा अपार्टमेन्ट बनाइएको थियो । तर सुकुम्बासीले त्यहाँ जान मानेका थिएनन् । सुविधासहितका आधुनिक अपार्टमेन्ट बनाइए पनि बनाएदेखि नै ती अपपत्र पर्दै आएका थिए । एउटा ब्लकमा नागार्जुन नगरपालिका १ को वडा कार्यालय चलाइएको थियो । अर्को एउटामा मानव सेवा आश्रम राखिएको थियो ।
बागमती, विष्णुमति र मनहरा किनारामा झुपडीमा बस्ने गरेका सुकुम्बासीलाई यसअघिका सरकारले अपार्टमेन्टमा सार्न सकेको थिएन ।

दुई ठाउँका यी अपार्टमोन्टमा एउटा १०० र अर्कोमा १२४ वटा फ्ल्याट रहेका छन् । सरकारले १२ करोड रुपैयाँ लगानी गरेर यी अपार्टमेन्ट बनाएको थियो । सुकुम्बासीलाई यी अपार्टमेन्टमा बस्न नदिने भनेर समेत केही स्थानीयले विरोध गरेका थिए । नागार्जुनका जनप्रतिनिधिले नै सुकुम्बासीलाई अपार्टमेन्टमा बस्न नदिने भनेर विरोध गरेका थिए ।

यसपटक वालेन्द्र शाह नेतृत्वमा बनेको सरकारले शनिबार र आइतबारसम्ममा बस्ती खाली गर्न भनेको छ । बस्ती खाली नगरे बल प्रयोग गरेर हटाउने चेतावनी दिएपछि शुक्रबार बिहानैदेखि केही सुकुम्बासीले धमाधम सामान उठाइरहेका छन् । कतिपय भने विरोधमा उत्रिएका छन् ।

अहिले ठूलो संख्यामा सुकुम्बासी देखिए पनि सरकारले गर्ने पहिचानमा संख्या घट्ने दाबी गरिएको छ । संख्या घटेर वास्तविक सुकुम्बासीको पहिचान हुँदा नागार्जुनको अपार्टमेन्टमा राखिने र त्यहाँ अपुग भए अर्को व्यवस्था गर्ने तयारी सरकारको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..