04/20/2026, 17:53:33
सोमबार, बैशाख ०७, २०८३

हिमाल तराई कन्सट्रक्सनका प्रोप्राइटर तामाङविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौँ, वैशाख ७ गते । काभ्रेको बनेपा नगरपालिका वडा नं. ३ वतन भएका हिमाल तराई कन्सट्रक्सन प्रालिका प्रोप्राइटर राजमान तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीविरुद्ध विशेष अदालतमा दर्ता भएको मुद्दामा प्रतिवादी चन्द्र बहादुर अधिकारी समेत भएको घुस मुद्दामा प्रतिकुल बकपत्र गरी भ्रष्टाचार गरेको आरोप लागेको छ ।

अधिकारीले नेपाल बैङ्क लिमिटेडको सञ्चालक समितिको अध्यक्ष जस्तो जिम्मेवार पदमा बसेको अवस्थामा प्रतिवादी रमेश आचार्यसँगको मिलेमतो तथा योजनामा तामाङलाई उक्त बैङ्कबाट ऋण मिलाइदिन सहजीकरण गर्न घुसबापत पाँच लाख रुपियाँ माग गरी लिन दिन मञ्जुर भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

आयोगकाअनुसार सेवाग्राही तामाङबाट रकम लिइ लिन लगाइसकेको उक्त रकम उल्लेखित चेक अधिकारीको घर कोठाबाट बरामद भएको तथा तामाङले आफूसमेतलाई भैरकानुनी लाभ प्राप्त गर्न उक्त रकम दिन लगाएको कार्य पुष्टि भएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) अन्तर्गतको कसुरमा बिगो पाँच लाख रुपियाँ कायम गरी कैद र जरिवाना सजाय हुन मागदाबी लिइ सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।