04/18/2026, 15:58:28
शनिबार, बैशाख ०५, २०८३

सम्झौता नभएसम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ : राष्ट्रपति ट्रम्प


अबर्ड एयर फोर्स (अमेरिका), वैशाख ५ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग शान्ति सम्झौतामा नभएसम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी कायम राख्ने योजना बनाएको बताउनु भएको छ ।

इजरायल र लेबनानबिचको युद्धविराम सम्झौता पछि इरानले शुक्रबार स्ट्रेट अफ होर्मुज पुनः खोलेको छ, यद्यपि तेहरानले अमेरिकी नाकाबन्दी जारी रहेमा होर्मुज जलमार्ग फेरि बन्द गर्ने धम्की दिएको छ । तेहरान र वासिङ्टनबिच यस अघि भएकोे युद्धविराम बुधबार समाप्त हुने भएको छ ।

युद्धविराम विस्तार हुन्छ कि हुदैन भनेर सोधिएको प्रश्नमा ट्रम्पले पत्रकारलाई युद्धविराम विस्तार नगर्ने तर नाकाबन्दी जारी राख्ने बताउनु भएको हो । यस अघि पाकिस्तानमा भएको वार्तामा अमेरिका र इरानका मागबिच मुख्य भिन्नता भएका कारण सहमतिमा पुग्न असफल भएका छन् ।

ट्रम्पले पत्रकारलाई इरानले स्ट्रेट अफ होर्मुज हुँदै जाने जहाजमा कुनै शुल्क नलगाउने बताउनुभएको छ । सामाजिक सञ्जाल ट्रुथमा उहाँले होमूज खोल्दा चिनियाँ राष्ट्रपति सी जिनपिङ धेरै खुसी भएको बताउनुभएको छ । आमामी मे महिनामा बेइजिङमा आयोजना गरिएको शिखर सम्मेलनलाई उल्लेख गर्दै ट्रम्पले चीनमा आफ्ना समकक्षी सी जिनपिङसँग विशेष र ऐतिहासिक भेटघाट हुने बताउनुभएको छ ।

फेब्रुअरी–२८ देखि सुरु भएको युद्ध अन्त्य गर्ने योजना अन्तर्गत तेहरानले इरानमा भण्डार गरिएको युरेनियम संयुक्त राज्य अमेरिकालाई हस्तान्तरण गर्नु पर्ने कुरामा पनि ट्रम्पले जोड दिनुभएको छ । यस अघि इरानको विदेश मन्त्रालयले आफ्नो युरेनियम कतै पनि हस्तान्तरण नगर्ने बताएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..