04/17/2026, 21:30:28
शुक्रबार, बैशाख ०४, २०८३

पीएम कप क्रिकेटको उपाधि आर्मीले उचाल्यो : सुदूरपश्चिम पाँच विकेटले पराजित


वीरगञ्ज, वैशाख ४ गते । विभागीय टोली त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। वीरगञ्जस्थित नारायणी रङ्गशालामा शुक्रबार भएको फाइनल खेलमा आर्मीले उपाधि उचालेको हो । योसँगै आर्मी तेस्रो पटक प्रधानमन्त्री कपको उपाधि चुम्न सफल भएको हो । यसअघि सन् २०१७ मा भएको पहिलो संस्करणमा पुलिससँग संयुक्त विजेता बनेको आर्मीले सन् २०२१ मा चौथो संस्करणको उपाधि जितेको थियो ।

टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा सबै विकेट गुमाएर १६१ रनको सामान्य योगफल तयार पारेको थियो । सुदूरपश्चिमका लागि अशोक धामीले ४६ बलमा ४३ र किरण ठगुन्नाले ४२ बलमा ३५ रन जोडे पनि अन्य ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन् ।

सुदूरपश्चिमलाई सस्तैमा समेट्न आर्मीका बलर आकाश चन्द र शाहब आलमले घातक बलिङ गर्नुभयो । चन्दले ९ ओभरमा २१ रन खर्चिएर ३ विकेट लिनुभयो भने आलमले १० ओभरमा समान ३ विकेट हात पार्नुभयो ।

blog

१६२ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले ३४.३ ओभरमा ५ विकेटको क्षतिमा १६४ रन बनाउँदै लक्ष्य पूरा गरेको हो । आर्मीको जितमा इमान शेखले ८२ बलमा अविजित ४६ रनको धैर्यपूर्ण इनिङ खेल्नुभयो । यस्तै, बसीर अहमदले ५६ बलमा ४५ रनको योगदान दिनुभयो ।

बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले २ र अशोक धामीले १ विकेट लिनुभयो । खेलमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्नुभएका आर्मीका बसीर अहमद ‘प्लेयर अफ द म्याच’ बन्नुभयो । उहाँले ब्याटिङमा ४५ रन बनाउनुका साथै बलिङमा ७.१ ओभरमा २५ रन खर्चेर २ विकेट लिनुभएको थियो ।