04/17/2026, 21:36:49
शुक्रबार, बैशाख ०४, २०८३
जीवन्त र समृद्ध असन

काठमाडौँ महानगरद्वारा ‘जीवन्त र समृद्ध असन’ कार्यक्रमको सुरुवात : निःशुल्क ‘वाटर एटिएम’ पनि सञ्चालनमा


काठमाडौँ, बैशाख ४ गते । काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक तथा प्रशासनिक क्षेत्रभित्रका मूर्त, अमूर्त, प्राकृतिक तथा अभिलेख सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि बैशाख ५ गतेदेखि असन क्षेत्रमा ‘जीवन्त र समृद्ध असन’ कार्यक्रम शुरु गर्ने भएको छ ।

जीवन्त र समृद्ध असन’ नाम दिइएको यो कार्यक्रमले स्थानीय सांस्कृतिक पहिचान र परम्परागत जीवनशैलीलाई जीवन्त राख्ने लक्ष्य लिएको हो । मानवीय तथा सवारी आवागमन चापका कारण भित्री शहरी क्षेत्रमा बढेको चुनौतीलाई सम्बोधन गर्न महानगरले यो कदम चालेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताउनुभयो ।

यस कार्यक्रम अन्तर्गत असन क्षेत्रमा परम्परागत ज्ञान, सीपको प्रदर्शनी, गायन, वादन र नृत्य जस्ता क्रियाकलापहरू सञ्चालन गरिनेछन् । बैशाख ५ गते शनिबारदेखि शुरु हुने यस कार्यक्रम अवधिमा असन क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाइनेछ ।

महानगरका अनुसार शनिवारको निश्चित समयमा कमलक्षी, भोटाहिटी र महाबौद्धबाट असनतर्फ आउने सवारी साधनहरू निषेध गरिनेछ ।  सवारी धनीहरूले वैकल्पिक मार्गको प्रयोग गर्नुपर्नेछ भने पर्यटक तथा आगन्तुकहरूले धरहरा भूमिगत पार्किङ वा जमल बोहरा भवनमा पार्किङ गर्न सक्ने प्रवक्ता मानन्धरले बताउनुभयो ।

blog

यस पहलले असन बजारको मौलिकता बढाउन, वायु प्रदुषण नियन्त्रण गर्न र स्थानीयवासीको उद्यमशीलता विकासमा टेवा पुग्ने महानगरको विश्वास छ ।

वडा नं २७ बाट शुरु गरिएको यो कार्यक्रम वडा नं २५ (केलटोल) क्षेत्रमा पनि विस्तार गर्ने तयारी भइरहेको पनि उहाँले बताउनुभयो । त्यस्तै वैशाख ५ गतेबाटै निःशुल्क वाटर एटिएम मेसिन शुभारम्भ गरिने पनि उहाँले जानकारी दिनुभयो ।

कामनपाभित्र करिव दुई करोड ६० लाख रुपैयाँको लागतमा आठ वटा वाटर एटिएम बुथ निर्माण भएका छन् ।  यि बुथहरु निःशुल्क गुणस्तरीय पिउने पानी उपलब्ध हुने महानगरले जनाएको छ ।

मौलिक शैलीमा निर्माण गरिएका बुथहरुमा तीन हजार लिटर पानी भण्डारण क्षमता रहेको उहाँले बताउनुभयो । बुथहरु खुला मञ्च, राष्ट्रिय सभा गृह, दरबार हाई स्कुल बाहिर, वडा नम्बर १७ को लिङ्क रोड ढल्को चोक, वडा नम्बर ५ नरःदे (हाँडीगाउँ), वडा नम्बर २६ परिसर र वडा नम्बर ३१ को परिसरमा जडान गरिएको बताउनुभयो ।