काठमाडौँ, बैशाख ४ गते । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आगामी बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढङ्गले अघि बढाउने तयारी भइरहेको बताउनुभएको छ ।
शुक्रवार सिंहदरबारमा संसदीय मामिला पत्रकार समाजमा आवद्ध सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सभामुख अर्यालले आफूले संसद्का सबै गतिविधिलाई प्रत्यक्ष रुपमा प्रसारण गरेर त्यसको सबै गतिविधिलाई पारदर्शी बनाउन चाहेको पनि उल्लेख गर्नुभयो ।
उहाँले सञ्चारकर्मीलाई आफूले संसद्मा सहज पहुँच विस्तारमा कुनै समस्या आउन नदिने समेत स्पष्ट पार्नुभयो । संसद्मा कुनैपनि विधेयकको ड्राफ्ट गर्दा समेत सबै सरोकारवालासँग पटक पटक छलफल गरेर अघि बढाउने कुरालाई आफूले अघि बढाउने सभामुख अर्यालको प्रतिवद्धता थियो । उहाँले देशको आवश्यकतालाई ध्यानमा राखेर संसद्मा नयाँ नजिरहरू स्थापित गर्दै लैजाने कार्ययोजना पनि सुनाउनुभयो ।
सभामुख अर्यालले भन्नुभयो, “नयाँ नजिरहरू स्थापित गर्दै जानुपर्ने हुन पनि सक्छ हामीले । किनकी अबको समाजलाई त्यो आवश्यक छ । अबको देशको लागि त्यो आवश्यकता छ भने त्यो गरौँ । तर तपाईंले भनेको कुरामा म गम्भिर छु । मलाई यसबारेमा जानकारी छ । त्यसकारण हामी कुनैपनि कुरालाई लाइभ गरेर सबै कार्यक्रम गर्नुपर्छ भन्ने उद्देश्य बोकेर आएको मान्छेहरु हो । त्यसकारण हामी कुनैपनि कुरा लुकाउनुपर्छ, छिपाउनु पर्छ भन्ने पक्षमा छैन । म त विधेयक ड्राफ्ट गर्दा हन्ड्रेड पर्सेन्ट विधेयक ड्राफ्ट गर्नु भन्दा अघि स्टेकहोल्डरसँग बसौँ, पटक पटक बसौँ । म यसै पटकको बजेटको अधिवेशनलाई नै हामीले अलिकति फरक के गर्न सकिन्छ ? भनेर त्यसमा काम गरिराखेको छु । यस्ता कुरामा हामी सचेत छौँ ।”
सभामुख अर्यालले कानून निर्माणको कामलाई आफूले छिटो छरितो ढङ्गले सम्पादन हुनेगरि संसदीय नियमावलीमा संशोधन गर्न चाहेको पनि बताउनुभयो ।


अवरोध सिर्जना गरेको गुनासो
भेटका क्रममा पत्रकारहरूले संसद भवन प्रवेश गर्दा गेट फरक भएका कारण भोग्नुपरेको प्राविधिक झन्झट र फोटो खिच्ने क्रममा हुने सुरक्षा कडाइले समाचार सङ्कलनमा अवरोध सिर्जना गरेको गुनासो राखेका थिए । उनीहरूले अन्तर्राष्ट्रिय अभ्यास र प्रेस स्वतन्त्रताको भावनाअनुरूप संसद् परिसरभित्र पत्रकारहरूका लागि सहज र मर्यादित कार्य-वातावरण सुनिश्चित गर्न जोड दिएका थिए ।
पत्रकारहरूको गुनासो सम्बोधन गर्दै सभामुख अर्यालले हालको संसद् भवन अस्थायी संरचनामा रहेकाले केही व्यावहारिक कठिनाइ उत्पन्न भएको बताउनु भयो । उहाँले नयाँ र स्थायी संसद् भवन निर्माण सम्पन्न भएपछि भौतिक संरचनाका कारण देखिएका यस्ता सबै समस्याहरू पूर्ण रूपमा समाधान हुने बताउनु भयो ।
स्थायी भवन नबनुन्जेलसम्मका लागि हालको समस्या समाधान गर्न आफू तत्पर रहेको उल्लेख गर्दै सभामुख अर्यालले बताउनु भयो, ‘संसद् र प्रेसको सम्बन्ध लोकतन्त्रको सुदृढीकरणका लागि अपरिहार्य छ । त्यसैले, तत्कालका लागि प्रवेशद्वार र फोटो खिच्ने प्रक्रियालाई कसरी व्यवस्थित र सरल बनाउन सकिन्छ भन्नेबारे संसद् सचिवालयका पदाधिकारी र सुरक्षा निकायसँग आवश्यक समन्वय गरिनेछ ।’
सभामुख अर्यालले संसदीय गतिविधिहरूको पारदर्शी र प्रभावकारी रिपोर्टिङका लागि पत्रकारहरूको पहुँचलाई सहज बनाउन र आवश्यक पर्ने सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














































