04/07/2026, 16:25:02
मङ्गलबार, चैत २४, २०८२

ऊर्जामन्त्रीको प्राथमिकता नीति र सेवा प्रवाह सुधार


काठमाडौँ, चैत १४ गते । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा क्षेत्रको दिगो विकासका लागि आफूले सेवा प्रवाह र नीतिगत सुधारलाई विशेष प्राथमिकतामा राख्ने बताउनुभएको छ । शुक्रबार मन्त्रीको पद तथा गोपनीयताको शपथपछि पदभार ग्रहणका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

विश्वमा स्वच्छ ऊर्जाको औचित्य बढिरहेको भन्दै नेपालको स्वच्छ ऊर्जा उत्पादन विस्तारका लागि नीतिगत सुधार र लगानी प्रवर्धन गर्नु आफूले सकारात्मक योगदान गर्ने उहाँले बताउनुभयो ।

देशको हितका लागि हामीले समयसापेक्ष नीति तथा कार्यक्रम बनाएर जानु पर्छ, सेवा प्रवाहलाई प्रभावकारी र चुस्त बनाउनु पर्छ,” उहाँले भन्नुभयो, “मन्त्रालय तथा मातहतका निकायमा आउने गुनासा तथा समस्या इमानदारीपूर्वक तत्काल सम्बोधन हुनु पर्छ ।

उहाँले मन्त्रालयमातहतका कतिपय आयोजना बर्सौंदेखि सम्पन्न नहुने अवस्थामा रहेको उल्लेख गर्दै यस्ता आयोजना पूरा गर्नेतर्फ ध्यान दिन मन्त्रालयमातहतका अधिकारीलाई निर्देशन दिनुभयो । अन्तरमन्त्रालय तथा निकायगत समन्वय अभाव जस्ता समस्याबाट सेवाग्राही समस्यामा पर्नु नहुने उहाँको भनाइ थियो ।

मन्त्रालयका कुनै पनि कार्य सुशासनको परिपालनामा चुस्त हुनुपर्ने भन्दै यसका लागि मन्त्रालयमा सुशासन ऐनमा उल्लिखित व्यवस्था अनुसार सुशासन युनिट तयार गर्न पनि उहाँले निर्देशन दिनुभयो । वित्तीय सुशासनमा अत्यन्तै संवेदनशील बन्नुपर्ने उहाँले औँल्याउनुभयो ।

ऊर्जा र सिँचाइका क्षेत्रमा अनुसन्धान र नवप्रवर्तनलाई पनि प्राथमिकता दिने उहाँको भनाइ थियो । मन्त्रालयका काम कारबाहीबारे आमजनतालाई जानकारी गराउन साप्ताहिक रूपमा उपलब्धि तथा गतिवधि सार्वजनिक गर्ने व्यवस्था मिलाउन पनि उहाँले मन्त्रालयका अधिकारीलाई निर्देशन दिनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको जिम्मेवारी पाउनुभएका श्रेष्ठ गत फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ क्षेत्र नम्बर ८ बाट विजयी हुनुभएको थियो । यसअघि २०७९ सालको निर्वाचनमा पनि उहाँ सोही क्षेत्रबाट विजयी हुनुभएको थियो । श्रेष्ठ यसअघि युवा तथा खेलकुदमन्त्री पनि बन्नुभएको थियो ।