काठमाडौँ, चैत १३ गते । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम चितवन क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । उनी समकालीन नेपाली राजनीतिमा उदाउँदो युवा नेतृत्वका रूपमा चिनिन्छिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधित्व गरेकी गौतम युवाको आवाजलाई नीतिगत तहसम्म पुर्याउने स्पष्ट सोचका साथ राजनीतिमा सक्रिय छिन् ।
वि.सं. २०५२ असार ३ गते दोलखामा जन्मिएकी गौतम हाल चितवनको भरतपुर महानगरपालिकालाई स्थायी बसोबास बनाउँदै आएकी छिन् । सामान्य पारिवारिक परिवेशमा हुर्किएकी उनका बुबा कृष्णप्रसाद गौतम र आमा तथा एक भाइ छन् ।
शिक्षाप्रति रुचि राख्ने गौतमले माध्यमिक तहको अध्ययन भक्तपुरको एक विद्यालयबाट पूरा गरेकी थिइन् । त्यसपछि उनले कानुन विषयमा स्नातक (एलएलबी) उत्तीर्ण गरेकी छन् भने हाल काठमाडौँ स्कुल अफ ल मा एलएलएम अध्ययनरत छिन् ।
राजनीतिमा प्रवेश गर्नुअघि नै कानुन, मानव अधिकार तथा सार्वजनिक सरोकारका विषयमा सक्रिय रहँदै आएकी गौतमले विभिन्न युवा अभियान र नीतिगत बहसमा आफ्नो उपस्थिति जनाउँदै आएकी थिइन् । कानुनी समस्या र अधिकार उल्लङ्घनका विषयलाई कानुनी प्रक्रियामार्फत समाधानतर्फ लैजाने अनुभव उनीसँग रहेको छ ।
त्यस्तै, राष्ट्रिय तहमा नीतिगत बहस, जनसरोकार र सुधारका एजेन्डा संसद्मा उठाउने अनुभव पनि उनमा छ । कानुन, न्याय तथा मानव अधिकार समितिमा पूर्व सदस्यका रूपमा उनले विधेयक, मानव अधिकार र न्यायका क्षेत्रमा प्रत्यक्ष अनुभव हासिल गरेकी छिन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा कानुनी परामर्शदाताका रूपमा अनुभव हासिल गरेकी उनले युवा संस्थाहरूको सञ्जालमार्फत अभियान सञ्चालन, सरकारसँग पैरवी तथा नीतिगत दबाब सिर्जनामा समेत सक्षम नेतृत्व देखाएकी छिन् ।
उनले अन्तर्राष्ट्रिय तहमा पनि आफ्नो पहिचान बनाएकी छन् । संयुक्त राष्ट्रसङ्घसँग आबद्ध कार्यक्रम तथा अन्तर संसदीय सङ्घको स्वास्थ्य समितिमा सदस्यका रूपमा उनले योगदान दिएकी छिन् । सार्वजनिक स्वास्थ्यसम्बन्धी विषयमा संवादमार्फत जनचेतना फैलाउने कार्यमा उनको सक्रियता उल्लेखनीय छ ।
युवाको सहभागिता, सुशासन, पारदर्शिता र नीतिगत सुधारका पक्षमा स्पष्ट धारणा राख्ने गौतमले राजनीतिलाई सेवा र परिणाममुखी कार्यसँग जोड्नुपर्नेमा जोड दिँदै आएकी छिन् । निर्वाचनका क्रममा उनले विकास, सुशासन र युवालाई अवसर सिर्जनाका एजेन्डा अघि सारेकी थिइन् ।
राजनीतिमा प्रवेश गर्नुअघि उनी सञ्चार क्षेत्रमा पनि सक्रिय थिइन् । विशेष गरी स्वास्थ्यसम्बन्धी कार्यक्रमकी प्रस्तोताका रूपमा उनले तथ्यमा आधारित बहस, गलत सूचनाविरुद्ध अभियान तथा जनचेतनामूलक कार्यक्रममार्फत समाजमा सकारात्मक प्रभाव पारेकी थिइन् ।
सन् २०२३ मा ‘वन यङ वर्ल्ड–पोलिटिसियन अफ द इयर’ अवार्डबाट सम्मानित गौतम युवापुस्ताको प्रतिनिधि स्वरका रूपमा स्थापित भएकी छिन् । रास्वपाकी संस्थापक केन्द्रीय सदस्यसमेत रहेकी गौतमले नीतिगत सुधार, पारदर्शिता र नागरिक–केन्द्रित शासन प्रणालीलाई प्राथमिकता दिने नयाँ पुस्ताको राजनीतिक नेतृत्वको प्रतिनिधित्व गर्छिन् ।
नीतिगत स्पष्टता, अध्ययनशीलता र सक्रियताका कारण उनलाई नेपाली राजनीतिमा सम्भावनायुक्त युवा नेताका रूपमा हेरिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
