04/05/2026, 11:47:14
आइतबार, चैत २२, २०८२

बालेन सरकारमा स्वर्णिम अर्थ, शिशिर परराष्ट्र मन्त्री बन्ने, गृहमा को ?


काठमाडौँ, चैत्र १३ : बालेन्द्र शाह नेतृत्वको सरकारमा स्वर्णिम वाग्ले अर्थ र शिशिर खनाल परराष्ट्र मन्त्री बन्ने भएका छन् ।

सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच भएको छलफलपछि अर्थ र परराष्ट्र मन्त्री टुंगो लागेको रास्वपाका एक शीर्ष नेताले बताए । २१ फागुनमा भएको चुनावको प्रचारप्रसारका बेलै रास्वपा सभापति रवि लामिछानेले वाग्लेलाई भावी अर्थमन्त्रीका रुपमा प्रस्तुत गरेको थिए । उनले वाग्लेलाई आगामी आर्थिक वर्षको बजेट लेख्दै गर्न समेत भनेका थिए ।

खनाल रास्वपाबाट पहिले शिक्षामन्त्री समेत भइसकेका नेता हुन् । उनी रास्वपा र बालेन्द्र शाहबीच एकताका लागि भएको संवादमा समेत सहभागी नेता हुन् । खनाल पार्टीमा अन्तर्राष्ट्रिय विभाग प्रमुख समेत हुन् ।

गृहमा तीन नेताको दाबी

गृह मन्त्रालयमा चाहिँ रास्वपा नेता सुनिल लम्साल, उपसभापति डिपी अर्याल र सुधन गुरुङमध्ये एक जनालाई रोज्ने तयारी छ । रास्वपाले प्रधानमन्त्रीका रुपमा अघि सारेका वरिष्ठ नेता बालेन्द्रले सुशासनका कतिपय कामका लागि आफ्नै साथीलाई मन्त्री बनाउन खोजेका छन् । सभापति लामिछानेको रोजाइ चाहिँ उपसभापति अर्याल हुन् ।

लम्साललाई पहिले भौतिक पूर्वाधार मन्त्रालयमा समेत चर्चा गरिएको थियो । तर, काठमाडौं महानगरमा समेत टिममा रहेर काम गरेका लम्साल बालेनको रोजाइमा छन् । जेन-जी आन्दोलनपछि चर्चामा आएका सुधनले पनि गृह मन्त्रालयमा दाबी गरिरहेका छन् । उनले आफूलाई काम गर्ने मन्त्रालय चाहिएको भन्दै शीर्ष नेताहरुसमक्ष गृहमा दाबी प्रस्तुत गरिरहेका छन् ।

– गौरव पोखरेल