काठमाडौं, चैत ६ गते । प्रतिनिधिसभाको नयाँ संरचना अनुसार विभिन्न राजनीतिक दलका संसदीय दलको कार्यालय व्यवस्थापन गरिने भएको छ । संसदमा प्रतिनिधित्व गर्ने ६ दलका प्रतिनिधिसँग बिहीबार भएको छलफलका क्रममा दलको कार्यालयसहित १२ गते शपथ लिनुअघि तयार पार्नुपर्ने सामाग्रीबारे पनि जानकारी गराइएको संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले बताए ।
बिहीबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कविन्द्र बुर्लाकोटी, नेपाली कांग्रेसका मोहनप्रसाद आचार्य, नेकपा एमालेका गुरु बराल, नेकपाका रमेश मल्ल, श्रम संस्कृतिका ध्रुव राई र राप्रपाका ज्ञानेन्द्र शाही सहभागी थिए ।
कसको कार्यालय कहाँ ?
नेपाली कांग्रेस र नेकपा एमालेले पुरानै कार्यालय प्रयोग गर्ने भएका छन् । निवर्तमान संसदको तेस्रो ठूलो दल रहेको तत्कालीन माओवादी केन्द्रले यसपटक पहिलो बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाउने सहमति भएको छ ।
कांग्रेस-एमालेका संसदीय दलका कार्यालय रहेकै कम्पाउण्डसँग जोडिएको संसद सचिवालको २ नम्बर भवनको दोस्रो तलामा उक्त कार्यालय रहने भएको हो । हाल नेकपाका नाममा संसदमा प्रवेश गर्ने तत्कालीन माओवादी केन्द्रलाई राष्ट्रिय श्रम संस्कृति पार्टी र राप्रपासहितलाई दिइने अलग्गै भवन प्राप्त भएको छ ।
नेपाल टेलिभिजनको अगाडि, रक्षा मन्त्रालयको प्रवेशद्वारसँगै रहेको उक्त भवनमा स्वतन्त्र सांसद महावीर पुनले पनि अलग्गै कार्यालय पाउने भएका छन् ।
सबै राजनीतिक दललाई शपथपछि ती-ती दलका पदाधिकारी चयन गरी निर्णयको प्रति पेश गर्न संसद सचिवालयले अनुरोध गरेको छ ।
एउटा राजनीतिक दलले एक-एकजनाका दरले संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतकको नाम दलको बैठकको निर्णय अनुसार माग गरिएको हो । दलहरूले शपथ अगाडि ती पदाधिकारी चयन गरे पनि विवरण शपथपछि मात्रै बुझिने सचिवालयस्रोतले जनाएको छ ।
संसदीय दलको नेता र प्रमुख सचेतकले राज्यमन्त्री सरह र उपनेता र सचेतकले सहायक मन्त्रीसरहको सेवा सुविधा पाउने व्यवस्था छ ।
शपथमा चाहिने कागजात
संसद सचिवालयले दलका प्रतिनिधिहरूलाई दिएको जानकारी अनुसार नवनिर्वाचित सांसदले नेपाली नागरिकताको सक्कल प्रति र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा निर्वाचित भएको प्रमाणपत्र साथमा लैजानुपर्ने छ । शपथअघि एउटा व्यक्तिगत विवरणको फारम भर्नुपर्ने छ । आ-आफ्नो बैंक खाता नम्बर दिनुपर्ने छ ।
सकेसम्म सरकारी बैंकको खाता भए राम्रो हुने सचिवालयले भनेको छ । यी सामाग्रीपछि मात्रै शपथ शुरू हुनेछ । शपथपछि प्रतिनिधिसभाको एक-एक थान लोगो वितरण हुने भएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
