08/11/2026, 21:25:27
मङ्गलबार, साउन २६, २०८३

एमाले र नेकपाबिच प्रदेश मन्त्रालय बाँडफाँटको आधार तय (तीन बुँदे सहमति)


काठमाडौँ, साउन २६ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बिच प्रदेश सरकारमा सहकार्य गर्नेसम्बन्धी तीन बुँदे सहमति कार्यान्वयनका लागि मन्त्रालय बाँडफाँटको प्रस्तावित आधार तय भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश सरकार गठनमा प्रदेशसभामा दलहरूको सिट सङ्ख्यालाई मुख्य आधार बनाउने निर्णय गर्नुभएको हो।

प्रस्ताव अनुसार मन्त्रालयको बाँडफाँट दलहरूको प्रदेशसभा सदस्य सङ्ख्याको अनुपातका आधारमा गरिनेछ। शक्ति सन्तुलन मिलाउन मुख्यमन्त्री र सभामुखको जिम्मेवारीलाई समेत गणना गरिनेछ भने साउन ९ गते दुई दलबीच भएको शीर्ष सहमति अनुसार नै प्रदेश सरकारको नेतृत्व र मन्त्रालयको बाँडफाँट अघि बढाउने तयारी छ।

मन्त्रालय छनोट गर्दा पालैपालो प्राथमिकता दिने व्यवस्था मिलाइएको छ। जसअनुसार पहिलो मन्त्रालय मुख्यमन्त्री नलिने दलले र दोस्रो मन्त्रालय मुख्यमन्त्री रहने दलले छनोट गर्नेछन्। यही क्रम पालैपालो दोहोर्याउँदै सबै मन्त्रालयको बाँडफाँट टुङ्ग्याइने विज्ञप्तिमा उल्लेख छ।