07/18/2026, 07:59:48
शनिबार, साउन ०२, २०८३

एमालेको केन्द्रीय प्रचार विभागको नयाँ वेबसाइट र एप सार्वजनिक


काठमाडौँ, साउन २ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय प्रचार विभागको नयाँ वेबसाइट र एप पार्टी कार्यालय च्यासलमा सार्वजनिक गर्नुभएको छ।

सो अवसरमा अध्यक्ष ओलीले वर्तमान समाजमा सत्यलाई तोड-मरोड गर्ने प्रवृत्ति हाबी हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । कालोलाई सेतो र सुल्टोलाई उल्टो बनाएर भ्रम फैलाउने प्रवृत्ति तात्कालिन राजनीतिसँग मात्र नभएर सामाजिक संस्कृति र सभ्यताको रक्षासँग जोडिएको रणनीतिक विषय भएको उहाँले बताउनुभयो ।

सूचना प्रविधि (आइटी) को प्रतिस्पर्धामा पार्टी केही पछि परेको स्वीकार गर्दै अध्यक्ष ओलीले अब आफ्ना कमजोरीलाई सुधारेर अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा पार्टीका महासचिव शङ्कर पोखरेलले युवा पुस्तालाई सूचना प्रविधिको प्रयोगबाट पार्टीको सही वैचारिक धारसँग जोड्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

वेबसाइटको सार्वजनिकीकरणको आयोजना केन्द्रीय प्रचार तथा प्रकाशन विभागले गरेको हो । विभागका प्रमुख नीरज आचार्यले वेबसाइटको नवीन संस्करणका बारेमा जानकारी गराउनुभएको थियो ।