06/20/2026, 14:29:52
शनिबार, असार ०६, २०८३

रातो मच्छिन्द्रनाथको ‘भोटो जात्रा’ शनिबार : तयारी अन्तिम चरणमा


ललितपुर, असार ५ गते । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक-धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुने भएको छ।

ललितपुर महानगरपालिका-४ का वडाध्यक्ष सन्तोष खड्काका अनुसार जावलाखेलस्थित ललित मण्डपमा भोटो देखाउने तयारी अन्तिम चरणमा पुगेको छ। प्रत्येक वर्षझैँ यस वर्ष पनि भोटो सर्वसाधारण तथा विशिष्ट अतिथिहरूलाई प्रदर्शन गरिने जानकारी उहाँले दिनुभयो।

रथयात्राको मुख्य मार्ग र परम्परा

वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएको यस रथयात्रामा भगवान् रातो मच्छिन्द्रनाथको मूर्तिलाई ३२ हात अग्लो रथमा विराजमान गराई विभिन्न स्थानहरूको परिक्रमा गराइएको थियो:

  • पुल्चोक
  • मङ्गलबजार
  • सुन्धारा
  • लगनखेल
  • कुमारीपाटी हुँदै जावलाखेल

रथलाई जावलाखेल पुर्‍याएको चौथो दिनमा भोटो प्रदर्शन गर्ने प्राचीन प्रचलन रहिआएको छ।

ऐतिहासिक महत्त्व: संस्कृतिविद्हरूका अनुसार वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको जात्रा नेपालको प्राचीन तथा विशिष्ट सांस्कृतिक सम्पदामध्ये एक हो। राजतन्त्रकालमा भोटो जात्रामा राजा उपस्थित हुने परम्परा रहेकामा गणतन्त्र स्थापनापछि राष्ट्रपतिले उक्त समारोहमा सहभागिता जनाउँदै आएका छन्।

जात्रा समापनपछि मूर्ति बुङ्मती लगिने

भोटो देखाउने जात्रा सम्पन्न भएपछि रातो मच्छिन्द्रनाथको मूर्तिलाई प्राचीन कलात्मक खटमा राखी बाजागाजासहित जावलाखेलबाट बुङ्मतीस्थित मच्छिन्द्रबहालमा लगेर विराजमान गराइने परम्परा रहेको छ।

वडाध्यक्ष खड्काले यस वर्षको जात्रा शान्तिपूर्ण, व्यवस्थित र सफलतापूर्वक सम्पन्न भएको बताउँदै भोटो जात्रामा सहभागी हुन आउने भक्तजन तथा दर्शकलाई आवश्यक सुरक्षा र व्यवस्थापनमा सहयोग गर्न आग्रह गर्नुभयो। साथै, उहाँले जावलाखेल क्षेत्रको फुटपाथमा व्यापार नगर्न सम्बन्धित सबैलाई अनुरोध समेत गर्नुभएको छ।