06/18/2026, 21:42:00
बिहिबार, असार ०४, २०८३

रास्वपा महाधिवेशन : चार करोड खर्च अनुमान, ईभीएम प्रयोग गरिने


काठमाडौँ, असार ४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनका लागि करिब चार करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

बिहीबार पार्टीको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै महामन्त्री कविन्द्र बुर्लाकोटीले उक्त जानकारी दिनुभएको हो । उहाँका अनुसार महाधिवेशनको मुख्य खर्च प्रतिनिधि दर्ता शुल्क, पार्टी सदस्य र शुभेच्छुकहरूको सहयोगबाट जुटाइनेछ । क्याटरिङ लगायतका सेवा प्रदायकहरूले नाफा नलिई लागत मूल्यमै सेवा दिने प्रस्ताव गरेको समेत उहाँले दाबी गर्नुभयो ।

विद्युतीय भोटिङ मेसिन (ईभीएम) प्रयोग गरिने

रास्वपाले महाधिवेशनमा मतदान र मतगणना छिटो सम्पन्न गर्न विद्युतीय भोटिङ मेसिन (ईभीएम) प्रयोग गर्ने तयारी गरेको छ । महाधिवेशनमा करिब २,५०० देखि ३,००० प्रतिनिधि सहभागी हुने अनुमान छ भने विदेशस्थित सम्पर्क समितिहरूबाट ३८ भन्दा बढी देशका १७० जना प्रतिनिधि सहभागी हुनेछन् ।

बैठकले पार्टीको विधान संशोधन गरी केन्द्रीय समितिको आकार १५१ सदस्यीय बनाउने र प्रदेश सभापतिहरूलाई पदेन सदस्य राख्ने प्रस्ताव तयार गरेको छ । महाधिवेशन आगामी असार ७ गते चितवनमा उद्घाटन गरिनेछ ।