06/02/2026, 11:21:33
मङ्गलबार, जेठ १९, २०८३

म्याग्दीमा रास्वपाका तीन पालिकामा नयाँ नेतृत्व चयन


म्याग्दी, जेठ १९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीले जिल्लाका ६ वटा पालिकामध्ये तीन वटा पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । रास्वपा जिल्ला उपसभापति छवी आचार्यका अनुसार बेनी नगरपालिका, रघुगङ्गा गाउँपालिका र मङ्गला गाउँपालिकामा नयाँ नेतृत्व चयन गरिएको हो । जिल्लाका ४५ वटा वडामध्ये २५ वटा वडा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भइसकेको छ ।

जिल्ला उपसभापति आचार्यका अनुसार बेनी नगरपालिकाको प्रथम नगर अधिवेशनबाट सभापतिमा राजबहादुर केसी, उपसभापतिमा यादव सुवेदी, सचिवमा काशिराम घिमिरे र सहसचिवमा जमुना केसीसहित ९ सदस्यीय कार्यसमिति चयन भएको छ । अन्य पदहरू सर्वसम्मत भए पनि सभापति पदका लागि सहमति नभएपछि मतदान प्रक्रियाबाट टुङ्गो लगाइएको उहाँले बताउनुभयो ।

blog

यसैगरी रघुगङ्गा गाउँपालिकाको प्रथम अधिवेशनबाट सभापतिमा डम्मरबहादुर पाण्डे, उपसभापतिमा प्रकाश पाईजा, सचिवमा दलबहादुर कार्की र सहसचिवमा इमाकुमारी शाही रकालसहित ९ सदस्यीय पालिका कार्यसमिति सर्वसम्मत चयन भएको जिल्ला उपसभापति आचार्यले जानकारी दिनुभयो ।

मङ्गला गाउँपालिकाको सभापतिमा प्रतिक सुवेदी, उपसभापतिमा मनबहादुर छन्त्याल, सचिवमा हरी आचार्य र सहसचिवमा भिमकली सुनार चयन हुनुभएको छ । पालिका अधिवेशनले जिल्ला अधिवेशन प्रतिनिधि ३ जना, प्रदेश अधिवेशन प्रतिनिधि १ जना तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि १ जना समेत चयन गरेको रास्वपा म्याग्दीले जनाएको छ ।

अधिवेशन नभएका अन्नपूर्ण, धवलागिरी र मालिका गाउँपालिकामा जिल्ला अधिवेशन सम्पन्न भएपछि पालिका अधिवेशन गरिने उपसभापति आचार्यले जानकारी दिनुभयो । आगामी जेठ २३ गते शनिबार प्रथम जिल्ला अधिवेशन हुने रास्वपाले जनाएको छ । रास्वपाले आगामी असार ७, ८ र ९ गते चितवनमा प्रथम केन्द्रीय महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ ।

– ठाकुरप्रसाद आचार्य