काठमाडौँ, जेठ १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत सरकारको निमन्त्रणामा तीनदिने औपचारिक भ्रमणका लागि १८ जेठमा नयाँदिल्ली जाने भएका छन् । काठमाडौं र दिल्लीबीच तनाव बढिरहेका बेला लामिछाने दिल्ली जान लागेका हुन् । यद्यपि भ्रमणबारे दुवै पक्षले औपचारिक घोषणा भने गरेका छैनन् । नेपाल सरकारले पनि लामिछानेको भ्रमणबारे औपचारिक रूपमा जानकारी नभएको जनाएको छ ।
दुवैतर्फबाट उच्च सरकारी तहमा औपचारिक भ्रमण हुनुअघि लामिछानेको भारत भ्रमण हुन लागेको हो । काठमाडौं र दिल्लीस्थित स्रोतका अनुसार भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, केन्द्रीय सडक परिवहन एवं राजमार्गमन्त्री नितिन गडकरी, विदेश सचिव विक्रम मिस्री तथा भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नितिन नवीन लगायतसँग भेट्ने कार्यक्रम छ ।
दुवै पक्षले भ्रमणबारे औपचारिक घोषणा नगरेको र भ्रमण व्यवस्थापनका लागि रास्वपाले परराष्ट्र मन्त्रालयसँग आधिकारिक समन्वय नगरेको मन्त्रालयका एक अधिकारीले काठमान्डु पोस्टलाई बताए । स्रोतका अनुसार लामिछाने र मोदीबीच १९ जेठमा भेटवार्ताको प्रस्ताव गरिएको छ । यो भेटले काठमाडौंको बदलिएको राजनीतिक परिवेशमा दुवै पक्षलाई एकअर्कालाई बुझ्न र सम्बन्ध विस्तार गर्न अवसर दिने बताइएको छ । तर दिल्लीस्थित विश्लेषकहरूका अनुसार भाजपा नेतृत्व तथा भारतीय सरकार र सुरक्षा निकायका वरिष्ठ अधिकारीहरू प्रधानमन्त्री वालेन्द्र शाह र लामिछानेको कार्यशैली फरक रहेकामा जानकार रहेकाले पनि लामिछानेको भ्रमणलाई नेपालका प्रधानमन्त्रीको भ्रमणको विकल्पका रूपमा हेरिएको छैन ।
‘रास्वपा नयाँ दल भए पनि हालैको निर्वाचनमा अत्यधिक बहुमत प्राप्त गर्यो । त्यसैले पनि दिल्लीले रास्वपा नेतृत्व र सरकारसँग सम्पर्क बनाउन चाहेको हो,’ दिल्लीस्थित स्रोतले पोस्टलाई भन्यो, ‘भ्रमण नेपालको नयाँ नेतृत्वसँगै उच्चस्तरको सम्पर्क विकास गर्ने योजनाअनुसार गरिएको हो । यसलाई पछिल्लो द्विपक्षीय तनावसँग जोड्न मिल्दैन,’ स्रोतले थप्यो ।
रास्वपा सभापति लामिछानेको भ्रमण भारतीय विदेश सचिव मिस्रीको काठमाडौं भ्रमण स्थगित भएको र सीमा विवाद चर्किएको पृष्ठभूमिमा हुन लागेको हो । यसअघि नयाँ सरकारका प्राथमिकताबारे बुझ्न विदेश सचिव मिस्री २८ वैशाखमा काठमाडौं आउने कार्यक्रम थियो । २७ चैतमा मौरिसस भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय समकक्षी एस जयशंकरबीचको भेटमा मिस्रीलाई काठमाडौं पठाउने सहमति भएको थियो । उक्त भेटमा मिस्रीले काठमाडौंमा रहँदा प्रधानमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री लगायत वरिष्ठ अधिकारीहरूसँग भेट्ने योजना बनाइएको थियो ।
तर मिस्रीको भ्रमणअघि नै नेपाल र भारतबीच सीमा विवाद चर्कियो । साथै प्रधानमन्त्री शाहले प्रोटोकलभन्दा तल्लो तहका विदेशी प्रतिनिधिसँग भेट गर्न अस्वीकार गरेपछि मिस्रीको भ्रमण रद्द हुन पुग्यो । यिनै घटनाक्रमबीच नै दिल्लीले रास्वपाका सभापति लामिछानेलाई भ्रमणका लागि निम्तो दिएको थियो । जुन यसअघि स्थगित भएको थियो । त्यही भ्रमण १८ जेठमा हुने तय भएको हो ।
सरकारले भने लामिछानेको भारत भ्रमणबारे अनभिज्ञता प्रकट गरेको छ । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले लामिछानेको भ्रमणलाई प्रधानमन्त्रीको भ्रमणसँग जोड्न आवश्यक नरहेको स्पष्ट पारे । परराष्ट्रमन्त्री खनालले मौरिससमा भारतीय सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रधानमन्त्री शाहले भारतीय समकक्षीको भ्रमणको निम्तो स्वीकार गरिसकेको बताएका थिए । त्यसपछि मिस्रीको काठमाडौं भ्रमण र प्रधानमन्त्री शाह पहिलो विदेश भ्रमणमा भारत जाने चर्चा चलेको थियो ।
तर मन्त्री पोखरेलले सोमबार पुनः एक पटक त्यो चर्चालाई खारेज गरे । प्रधानमन्त्री शाह भारत नगएपछि त्यसको साटो सभापति लामिछानेको भ्रमण हुन लागेको हो भन्ने पत्रकारहरूको जिज्ञासामा उनले भने, ‘प्रधानमन्त्रीले उचित समयमा भारत भ्रमण गर्नु हुनेछ । अहिले उहाँ भारत मात्र होइन, कहीँ पनि जानुभएको छैन । तत्कालका लागि हाम्रो मुख्य ध्यान सरकारको १०० दिनको कार्यतालिकामा छ ।’ मन्त्री पोखरेलले पार्टी सभापति लामिछाने आफ्नै हिसाबले भारत भ्रमणमा जान लागेको बताए । ‘प्रधानमन्त्रीको भ्रमणसँग जोड्ने प्रयास हुन सक्छ तर दुवैबीच कुनै सम्बन्ध छैन,’ उनले भने ।
त्यस्तै प्रधानमन्त्रीनिकट एक सहयोगीले प्रधानमन्त्री शाह र पार्टी सभापति लामिछानेबीच भारत भ्रमणबारे कुनै पनि असमझदारी नरहेको दाबी गरे । ‘सभापति प्रधानमन्त्रीसँग निरन्तर सम्पर्कमा हुनुहुन्छ र दुवैले परामर्श गरिरहनुभएको छ,’ ती अधिकारीले भने । तर परराष्ट्र मन्त्रालयले लामिछानेको भ्रमणबारे दिल्लीस्थित नेपाली दूतावासलाई सोमबार साँझसम्म कुनै जानकारी पठाएको छैन ।
रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले सभापति लामिछानेको विषयमा दिल्लीस्थित भारतीय सरकारी अधिकारीहरूसँग परामर्श भइरहेको बताए । ‘भ्रमणबारे पार्टीमा छलफल भइरहेको छ र उता भारतीय अधिकारीसँग पनि परामर्श भइरहेको छ,’ उनले भने, ‘भ्रमणका विषयवस्तुहरू भने अझ तय भइसकेका छैनन् ।’
स्रोतका अनुसार लामिछानेको भ्रमण टोलीमा पत्नी निकिता पौडेलका अतिरिक्त सांसद विपिन आचार्य र दीपक बोहरा पनि रहनेछन् । दिल्लीस्थित स्रोतले पोस्टसँगको कुराकानीमा यो भ्रमण विगतमा काठमाडौंमा हुने गरेको उच्चस्तरीय राजनीतिक भ्रमणको निरन्तरता भएको बताए । ‘यसअघि पुष्पकमल दाहाल, शेरबहादुर देउवालगायत नेताले पनि दिल्ली भ्रमण गरी उच्चस्तरीय राजनीतिक भेटघाट गरेका थिए । त्यसैले लामिछानेको भ्रमणलाई पनि त्यसैअनुसार हेर्नुपर्छ,’ भाजपानिकट स्रोतले भन्यो ।
नेपाल मामिलाका जानकार तथा दिल्ली विश्वविद्यालयका सहप्राध्यापक निहार नायकले लामिछानेको भ्रमणले नेपाल–भारत सम्बन्धलाई सरकार र पार्टी दुवै तहमा सुदृढ बनाउने बताए । ‘यसले भाजपालाई रास्वपाको विदेश, आर्थिक र रणनीतिक मामिलामा रहेको दृष्टिकोण बुझ्ने अवसर दिनेछ । अहिलेसम्म भाजपाले विशेषगरी नेपालका स्थापित दलहरूसँग मात्र सम्बन्ध राखेको थियो ।
लामिछानेका लागि समेत यो भ्रमण विशेषगरी लिपुलेकका विषयमा नेपालले पठाएको कूटनीतिक नोट र १०० रुपैयाँभन्दा माथिका सामानमा भन्सारमा गरिएको कडाइका कारण द्विपक्षीय सम्बन्धमा तनाव देखिएको छ भन्ने सञ्चारमाध्यमहरूले बनाएको भाष्यलाई बुझ्ने अवसर बन्नेछ । घरेलु मुद्दामा व्यस्तताले प्रधानमन्त्री बालेनको विदेश भ्रमणको योजना नरहेका बेला अहिलेको अवस्थामा पार्टी तहमा भ्रमण हुनु निकै अर्थपूर्ण हुन सक्छ,’ उनले भने ।
– अनिल गिरी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


































