गुल्मी, जेठ ११ गते । गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पालिकास्तरीय अधिवेशन गर्ने भएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तहमा अधिवेशन गर्न रास्वपा गुल्मीले मिति तय गरेको हो ।
जिल्ला पार्टी कार्यालयमा बसेको रास्वपा जिल्ला कार्यसमितिको बैठकले पालिकास्तरीय अधिवेशन सम्पन्न गर्न पालिका अधिवेशन निर्वाचन समिति गठन गरेको छ । प्रत्येक पालिकामा एक संयोजक र दुई सदस्यसहित तीन सदस्यीय निर्वाचन समिति परिचालन गरिएको रास्वपा गुल्मीका सभापति भोजराज पाण्डेले जानकारी दिनुभयो ।
सभापति पाण्डेका अनुसार जेठ १२ गतेदेखि १७ गतेसम्म सबै पालिकामा अधिवेशन गर्ने तालिका तय गरिएको छ । तालिका अनुसार जेठ १२ गते छत्रकोट गाउँपालिका, १३ गते धुर्कोट गाउँपालिका तथा १४ गते सत्यवती गाउँपालिका र चन्द्रकोट गाउँपालिकामा अधिवेशन सम्पन्न गरिनेछ ।
त्यसैगरी जेठ १६ गते मालिका गाउँपालिकामा तथा जेठ १७ गते रेसुङ्गा नगरपालिका, मुसिकोट नगरपालिका, मदाने गाउँपालिका, कालिगण्डकी गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका र इस्मा गाउँपालिकामा अधिवेशन गरिनेछ ।
गुल्मी दरबार गाउँपालिकामा भने वडा अधिवेशनको प्रक्रिया चलिरहेकाले पालिका अधिवेशनको मिति तय हुन बाँकी रहेको रास्वपा गुल्मीले जनाएको छ ।
– रमेश विश्वकर्मा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





































