

काठमाडौँ, वैशाख २७ गते । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको पछिल्लो राजनीतिक परिस्थिति र निर्वाचनपछिका घटनाक्रमका कारण कम्युनिस्ट शक्तिहरूबीच एकता अपरिहार्य बन्दै गएको बताएका छन्।
निर्मल लामा स्मृति दिवसका अवसरमा काठमाडौँको पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले विचार, राजनीति र संगठनात्मक आधारमा कम्युनिस्ट एकता अब विकल्प नभई आवश्यकताको रूपमा अघि बढिरहेको धारणा राखेका छन्।
उनका अनुसार विगतका घटनामा मात्र केन्द्रित भएर अघि बढ्ने अवस्था अब नरहेको भन्दै कम्युनिस्ट आन्दोलन एकताबद्ध हुन नसके त्यसको परिणाम गम्भीर हुन सक्ने चेतावनीसमेत दिए।
दाहालले दक्षिण एसियामा कम्युनिस्ट आन्दोलन कमजोर भएको वा समाप्त भएको भन्ने प्रकारका चर्चा फैलिरहेको उल्लेख गर्दै त्यस्ता भाष्यहरू कम्युनिस्ट शक्तिलाई कमजोर बनाउने उद्देश्यसहित अघि बढाइँदै हुन सक्ने भन्दै सचेत रहन आग्रह गरे।
उनले नेपालको कम्युनिस्ट आन्दोलन र राष्ट्रिय स्वाधीनतामाथि समेत चुनौती सिर्जना गर्ने प्रयास भइरहेको दाबी गर्दै त्यसलाई प्रतिकार गर्न वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताए।
उनका अनुसार स्थानीय तहदेखि नै यस्ता शक्तिहरूबीच एकता र सहकार्यको आवश्यकता बढ्दै गएको छ। आफू विभिन्न स्थानमा पुग्दा कार्यकर्ताहरूले पनि कम्युनिस्ट एकता, लोकतन्त्र र गणतन्त्रको संरक्षणका लागि साझा मोर्चा गठन गर्नुपर्ने सुझाव दिने गरेको उनले उल्लेख गरे।
त्यस अवसरमा उनले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको कार्यशैलीप्रति टिप्पणी गर्दै श्रमिक, विपन्न र निम्न आय समूहका नागरिकप्रति नीतिगत रूपमा कठोरता देखिएको आरोपसमेत लगाए।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














































