काठमाडौँ, वैशाख २९ गते । मण्डला थिएटरमा आयोजित एक विशेष समारोहका बिच अनिता खरेलको उपन्यास ‘आदिरा’ सार्वजनिक गरिएको छ । शनिबार थापागाउँस्थित मण्डला थिएटरमा कवि तथा उपन्यासकार विप्लव प्रतीक, फिल्म निर्देशक शान्ता नेपाली, जेन्जी अभियन्ता माजिद अन्सारी र लेखक स्वयंले संयुक्त रूपमा उपन्यासको विमोचन गर्नुभयो ।
विमोचन कार्यक्रममा बोल्दै फिल्म निर्देशक शान्ता नेपालीले उपन्यास पढ्दै जाँदा आफू कल्पनाको संसारमा डुबेको अनुभव सुनाउनुभयो । उहाँले उपन्यासको परिवेशलाई आफूले निर्माण गर्दै गरेको फिल्मको चितवनस्थित माडीको सुन्दर परिवेशसँग तुलना गर्दै कथाले पाठकलाई मन्त्रमुग्ध बनाएर तानिरहने बताउनुभयो ।
त्यसैगरी, माजिद अन्सारीले कथाको ‘प्लट‘ सुरु भएपछि आउने उतारचढाव रोचक रहेको उल्लेख गर्नुभयो । पात्रहरूको अनुभूतिले आफूलाई आफ्नै कथासँग साक्षात्कार गराएको बताउँदै उहाँ भावुकसमेत हुनुभयो ।

कवि विप्लव प्रतीकले उपन्यासमा स्वैरकल्पनाको अद्भुत संसार निर्माण गरिएको भन्दै लेखकलाई बधाई दिनुभयो । “काल्पनिक संसारमा घुम्दाघुम्दै नभनिएको र कल्पना नगरिएको प्लट, मोड एवं आरोह–अवरोहको विशाल ‘इमेज’ रोचक ढङ्गले बुन्नु कठिन काम हो,” उहाँले भन्नुभयो, “यही कठिन कामको अद्भुत परिणाम ‘आदिरा’ हो ।” पाठकले यो पुस्तक पढ्दा आफ्नै दृश्यहरू बनाउन पाउने र पृथक स्वाद लिने उहाँको भनाइ थियो । प्रतीकले काफ्काको ‘मेटामर्फोसिस’ र मार्खेजको ‘हन्ड्रेड इयर्स अफ सोलिच्युड’ जस्ता कृतिहरूको स्वैरकल्पनाको व्याख्या गर्दै ‘आदिरा’ लेखकको चेतना र चिन्तनले निर्माण गरेको ‘न्यारेटिभ’ सँग नजिक रहेको जिकिर गर्नुभयो ।
लेखक अनिता खरेलले ‘आदिरा’ प्रेम, करुणा, सद्भाव, त्याग र कर्तव्यपरायणताको कथा भएको बताउनुभयो । उहाँका अनुसार यो मातृवात्सल्य, शक्ति र साहसका साथै न्याय र समानताको कथा पनि हो । उपन्यासमा अहङ्कार, छल र कपट एवं हरेक व्यक्तिभित्र हुने सकारात्मकता र नकारात्मकताबिचको द्वन्द्वलाई चित्रण गरिएको छ । यो खरेलको पहिलो उपन्यास हो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
