काठमाडौँ, फागुन ६ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं. १० मा प्रत्यक्षतर्फ जम्मा २५ जना उम्मेदवार छन् । जसमध्ये पुरुष उम्मेदवार २० र महिला उम्मेदवार पाँच जना रहेका छन् ।
राजनीतिक दलबाट १५ र स्वतन्त्र दस जना उम्मेदवार छन् । प्रतिनिधि सभा सदस्यका लागि नेकपा (एमाले) का विनोद श्रेष्ठ, नेपाली कांग्रेसका हिमाल कार्की, नेपाली कम्युनिस्ट पार्टीका रूपा महर्जन (श्रेष्ठ), राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापा, जनता समाजवादी पार्टी नेपालका भागरीत साह, नेपाल मजदुर किसान पार्टीका विन्द्रा महर्जन, राष्ट्रिय जनमोर्चाका अम्बरबहादुर पौडेल, प्रगतिशील लोकतान्त्रिक पार्टीका केशवराज अर्याल, मङ्गोल नेसनल अर्गनाइजेसनका राम रुम्बा, जय मातृभूमि पार्टीका विक्रम पाण्डे क्षेत्री, श्रम संस्कृति पार्टीका धनबहादुर श्रेष्ठ, नेकपा (माओवादी) का रामकुमार भोम्जन, उज्यालो नेपाल पार्टीका राकेश न्यौपाने र समावेशी समाजवादी पार्टीका पुर्णचन्द्र पौडेल उम्मेदवार हुनुहुन्छ ।

यसैगरी, स्वतन्त्र उम्मेदवार अनुज प्रधान, कविता पुडासैनी (अधिकारी), कुमार खाकी श्रेष्ठ, कृष्णकुमारी नेपाली, दीपकराज पाण्डे, देवकुमार श्रेष्ठ, विनोद बुढाथोकी, मिनबहादुर बुढाथोकी, राजकुमार गिरी र सुलोचना परियार हुनुहुन्छ ।
नेकपा (एमाले) का विनोद श्रेष्ठले मतदातासँग साक्षात्कार हुँदा उनीहरूको साथ, समर्थन सँगसँगै गुनासो पनि प्राप्त भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “एउटाले बिराउने साखा पिराउने भन्छन् नि, पहिला–पहिलाका उम्मेदवार भोट माग्ने बेलामा मात्र आउने, चुनाव जितिसकेपछि पनि नआउने, हारेकाहरू त झन् आउँदै नआउने भन्ने खालको प्रश्नहरू आउने रहेछ त्यो चाहिँ अनुभव प्राप्त गरें मैले म चाहिँ यही थानकोटको निवासी, यही जन्मे, हुर्के, खेलेको व्यक्ति भएकोले यो एउटा सकारात्मक पक्ष छ ।”

नेपाली कांग्रेसका हिमाल कार्की अहिले मतदातासँग भेटघाटको कार्यक्रम निरन्तर चलिरहेको भन्नहुँदै उत्साहपूर्ण प्रतिक्रिया प्राप्त भइरहेको बताउनुहुन्छ ।
कार्की भन्नुहुन्छ, “काठमाडौँ क्षेत्र नं. १० तीन वटा नगरपालिका मिलेर बनेको छ, कीर्तिपुर, चन्द्रागिरि र दक्षिणकाली । त्यसपछि अहिले हामी तीन वटै नगरपालिकामा मतदाता भेटघाटमा हिँडिरहेको अवस्था छ । मतदाताहरू निकै उत्साहका साथ पहिलाभन्दा दोब्बर मत दिन्छौं भन्ने उत्साहका साथ फागुन २१ मा नेपाली कांग्रेसलाई जिताउन आतुर हुनुहुन्छ ।”
नेपाली कम्युनिस्ट पार्टीका रूपमा महर्जन श्रेष्ठले घरदैलो कार्यक्रम चलिरहेको भन्नुहुँदै मतदाताले चुनावका बेला मात्रै नेताहरू आउने गरेको गुनासो गरेको बताउनुभयो ।
महर्जन भन्नुहुन्छ, “अहिले चुनावी तयारीका क्रममा हामी घरदैलोमा छौं । अहिलेसम्मको स्थिति हेर्दा ठीकै छ तर जनतामा नेताहरू आएनन् भन्ने गुनासो धेरै छ । चुनावको बेला एक पटक आउने त्यसपछि फर्केर नआउने भन्ने गुनासो धेरै देखिएको छ । अर्को, युवा महिला उम्मेदवार भएको हिसाबले अलि उत्साह पनि देख्निछ । एक पटक नयाँ अनुहारलाई हेरौं भन्ने पनि छ ।”
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले मतदातासँग साक्षत्कारको क्रममा उनीहरूले तपाईंहरू पनि पुरानो जस्तै हो कि भनेर प्रश्न गर्ने गरेको बताउनुभयो ।
विष्टले भन्नुभयो, “हामी माथि पनि चुनौती त छन् । तपाईंहरू पनि पुरानो जस्तै हो कि भनेर सोध्नुहुन्छ । मैले पुरानो कस्तो हो भनेर सोध्छु । चुनावपछि कहिले पनि फर्केर नआउने, चुनाव जितेर उम्मेवार फर्केर आएनन् भन्ने गुनासो धेरै सुनियो । हुन त, उम्मेदवार आएर के के गर्ने गरेको थियो त्यो त थाहा छैन मलाई ।”
धेरै बोल्यौंं, काम गरौं
एमालेका श्रेष्ठ यो चुनावमा ‘सुनिन्छ, गरिन्छ, बदलिन्छ’ भन्ने प्रतिबद्धताका साथ आम जनता समक्ष गएको बताउनुहुन्छ ।
श्रेष्ठ भन्नुहुन्छ, “यो देश धेरै बोलेर बिग्रियो भन्ने खालको छ हाम्रो पनि । धेरै बोल्ने होइन जनताको पीडा सुन्नुपर्छ । ती कुरालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्छ । ती जम्मै विकास निर्माणको मोडल नै अब फेर्नु पर्छ । मानिसले अनुभूति नै गर्न नसक्ने विकास के काम ? भनेर प्रश्न उठेको छ ।”
अहिले नागरिकका घरदैलो कार्यक्रमका बेला सकारात्मक प्रतिक्रिया पाएको भन्नुहुँदै नारा अनुसारको व्यवहार अपेक्षा गरेको कुरा मतदाताले बताएको भन्नुभयो ।
उहाँले भन्नुभयो, “ठुला–ठुला अन्तर्राष्ट्रिय स्तरको अस्पताल बनेका छन् तर सामान्य जनता, निम्न वर्गले उपचार गर्न सकेनन् भने त्यो विकासले के गर्ने ? भन्ने खालको कुराहरू यहाँ आइरहेको छ । त्यही भएको हुनाले हामीले सुन्ने हो, धेरै बोल्ने होइन गर्ने हो र समाजलाई बदल्ने हो भन्ने हिसाबले नै हामी अगाडि बढाइरहेका छौं । सारा जनताले यो चाहिँ नारा ठीक छ, त्यही अनुासर व्यवहारको अपेक्षा गर्छौं भन्ने हिसाबले मलाई फिडब्याग पनि आइरहेको छ ।”
पर्यटकीय स्थल विस्तार गर्ने लक्ष्य
कांग्रेसका कार्कीले आफू विगतदेखि नै पार्टीको नीति अनुरूप जनताको सेवामा कार्य गर्दै आएको भन्नुहुँदै यो पटक कीर्तिपुर, दक्षिणकाली र चन्द्रागिरिलाई कनेक्टिभिटीमार्फत जोड्ने अभियान रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “दक्षिणकालीको पूर्वी भागबाट फास्ट ट्रयाक पनि आउँदैछ । कनेक्टिभिटी मार्फत कीर्तिपुर, दक्षिणकाली र चन्द्रागिरिलाई जोड्ने अभियानमा पनि छौं । दक्षिणकालीको पूर्वी कुनाबाट डाँडा–डाँडै चन्द्रागिरिको मसिनेसम्म हाइकिङ, ट्रेकिङ रुटहरू बनाएर त्यहाँ विभिन्न किसिमको आयआर्जनको स्रोत खोज्ने र पर्यटकलाई आकर्षण गर्ने हाम्रो लक्ष्य छ । कीर्तिपुरको बाघभैरव मन्दिर, दक्षिणकाली मन्दिर चन्द्रागिरिको भालेश्वर मन्दिरमा धार्मिक पर्यटक विस्तर गर्ने योजना हाम्रो छ ।”

उहाँले काठमाडौँ–१० को तीन वटै नगरपालिकाको नेवारी समुदायमा विभिन्न सांस्कृतिक बाजागाजा, रहनसहन, भेषभूषा रहेको तथा यहाँको रमणीय, धार्मिक तथा पर्यटकीयस्थललाई थप प्रवर्धन गर्ने र आम जनताको आर्थिक स्थिति थप सुधार गर्ने उद्देश्यका साथ नीति निर्माण गर्ने लक्ष्य रहेको बताउनुभयो ।
परिणाम जे भए पनि निरन्तर जनतासँग रहने प्रतिबद्धता नेकपाका महर्जनले देशमा जेन-जी आन्दोलनपछिको स्थिति हेर्दा सबैतिर राजनीतिक स्थीरता र भ्रष्टाचारमुक्त सुशासनको माग रहेको बताउनुभयो। नेकपाले यी मुद्दालाई प्रमुख रूपमा उठाउँदै आएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारीको विषयलाई हामीले त्यो बेला पनि थाती राखेका थियौं । यो पटक हामीले दरिलो हिसाबले उठाएका छौं । भ्रष्टाचारका विषयमा अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा जब सरकार बन्दैथियो त्यतिबेला विस्तारै भ्रष्टाचारकै मुद्दाहरू खुल्दै गरेको कारणले गर्दा नै सरकार परिवर्तन भएको छ । आउने निर्वाचनमा एउटा बल त्यो चीजको पनि छ । भ्रष्टाचारका विषयवस्तु जो संस्थागत रूपमा भएका छन् यसलाई उजागर गर्दै जाने अभियानमा पनि छौं ।”
उहाँले चुनावी प्रतिस्पर्धामा आफू युवा महिला भएकै कारण अर्को चुनौती रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “म महिला एक जना प्रत्यक्ष उम्मेदवार भएको कारणले सबैभन्दा पहिला सङ्घर्ष म आफैंभित्र पनि छ । हामी यो माहोलमा होमिन सक्छौं कि सक्दैनौं ? भन्ने सङ्घर्षको बिचमा उभिएको छु । लामो समयमो राजनीतिक इतिहास सँगसँगै जनताको बिचमा होमिँदै गर्दा अबको दिनमा जनताले मलाई विश्वास गर्नुभयो भने म सक्षम उम्मेदवार चाहिँ छु भन्ने कुरा जनताकै हातमा मैले छोडेको छु ।” उहाँले आगामी चुनावमा परिणाम जे भए पनि आफू निरन्तर जनताको सेवा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
युवालाई लर्निङ विथ अर्निङ कार्यक्रम
रास्वपाका विष्टले देश प्राकृतिक सौन्दर्यमा सम्पन्न भएको तर नेता, नेतत्व र व्यवस्थापनको कमीका कारण धेरै गुनासो सुनिएको बताउनुभयो । मुख्यरूपमा भ्रष्टाचारका कारण यी समस्याहरू देखापरिरहेको उहाँको भनाइ छ ।
उहाँ भन्नुहुन्छ, “नेता, नेतृत्व र व्यवस्थापनको कमी भएर धेरै गुनासाहरू देखिन्छ । यसको प्रमुख शत्रु भनेको भ्रष्टाचार नै हो । काम गरेर देखाएपछि फरक हुने कुरा हुन्छन् । अब काम नै नगरी फरक गर्छु त धेरै भनियो । तर, हामी सक्ने भन्दा नसक्ने कुरा गर्नुपर्छ वाचा गर्छौं भन्ने पक्षमा छैनाैँ । तत्काल गर्न सक्ने ६, महिना, एक वर्ष र पाँच वर्षमा गर्न सक्ने कामलाई योजना बनाएर गछौं भन्नेमा छौं ।”

उहाँले विज्ञ एवम् सल्लाहकार समूह गठन गरेर युवा पुस्तालाई स्वदेशमै अध्ययन सँगसँगै रोजगारीको वातावरण निर्माण, विकासका कार्यहरू चुस्तदुरुस्त रूपमा अघि बढाउने गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“हाइटेक सचिवालय र विज्ञ समूह गठन गर्ने भनेको छु । इन्जिनियरको विज्ञ समूहको एउटा सल्लाहकार समूह बनाउनुपर्छ । अधिकांश छोराछोरी, भाइबहिनी, नातिनातिना विदेशमा जानुपर्ने भएको छ । लर्निङ विथ अर्निङ, डिग्रीसँगै हातमा सपि अनिवार्य गराउने विषय नीतिमै लविङ गराउनुपर्ने छ”, उहाँ भन्नुहुन्छ, “काठमाडौँ १० भनेको उपत्यका भित्रिने नाका पनि परेको हुनाले जुन नागढुङ्गाबाट फर्पिङको नाकाबाट स्मार्ट गेट–वे को परिकल्पना मैले राखेको छु ।”

– सपना थामी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
