

काठमाडौँ, असोज ९ गते । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना तथा विभिन्न सांस्कृतिक परम्परासहित आज इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’ पर्व मनाइँदैछ। काठमाडौँ उपत्यकासहित धुलिखेल, दोलखालगायतका स्थानमा विभिन्न विधि, नाचगान र रथयात्रासहित यो पर्व मनाउने गरिन्छ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि औपचारिक रूपमा सुरु हुन्छ। यसलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ। लिङ्गोको फेदमा भैरवको पूजा गर्ने परम्परा छ।
विभिन्न विधि र विधान, नाचगान तथा रथयात्रासहित इन्द्रजात्रा करिब आठ दिनसम्म मनाउने परम्परा छ। जात्राका क्रममा जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गरिन्छ भने लाखेनाच, पुलुकिसी, महाकाली नाच, भक्कुनाच तथा दशावतारलगायतका सांस्कृतिक प्रस्तुतिहरू देखाइन्छन्।
काठमाडौँमा इन्द्रजात्राको विशेष आकर्षणका रूपमा जीवित देवी कुमारीको रथयात्रा रहेको छ। हनुमानढोकास्थित गद्दी बैठकबाट राष्ट्रपति तथा विशिष्ट व्यक्तिहरूले कुमारी, गणेश र भैरवको रथयात्रा अवलोकन गर्ने परम्परा छ। राजतन्त्रको समयमा भने राजाले रथयात्रा हेर्ने चलन थियो।
पारिजात फूलसँग जोडिएको इन्द्रजात्राको कथा
इन्द्रजात्रा विभिन्न धार्मिक कथा तथा किंवदन्तीसँग जोडिएको छ। संस्कृतिविद् पुरुषोत्तम श्रेष्ठका अनुसार यसको एउटा प्रमुख किंवदन्तीमा स्वर्गका राजा इन्द्र पृथ्वीलोकमा पाइने पारिजात फूल र एक प्रकारको फल लिन आएका थिए।
किंवदन्तीअनुसार पृथ्वीका राजा ‘मुपात्र’को अनुमतिबिना पारिजात फूल र फल लिन खोज्दा पृथ्वीवासीले इन्द्रलाई समातेका थिए। त्यसपछि उनलाई दोबाटो तथा चौबाटोमा आठ फन्को डोरीले बाँधेर राखिएको बताइन्छ।
इन्द्रकी आमाले छोरा पृथ्वीमा बाँधिएको थाहा पाएपछि ऐरावत हात्ती अर्थात् ‘पुलुकिसी’ पठाएको र हुस्सु छरेर पृथ्वीवासीले नदेख्ने गरी इन्द्रलाई स्वर्ग फर्काएको किंवदन्ती रहेको श्रेष्ठ बताउनुहुन्छ।
काठमाडौँ र भक्तपुरमा इन्द्रजात्रासम्बन्धी किंवदन्तीमा केही भिन्नता रहेको पनि संस्कृतिविद्हरू बताउँछन्। काठमाडौँको किंवदन्तीमा स्वयं इन्द्र पारिजात फूल लिन आएको मानिन्छ भने भक्तपुरको कथामा इन्द्रका छोरा जयन्त पृथ्वीलोक आएको उल्लेख छ।
इन्द्रजात्रामा ‘यँसी’को विशेष महत्व
इन्द्रजात्रामा ठड्याइने ‘यँसी’ अर्थात् इन्द्रध्वज पनि पर्वको महत्वपूर्ण पक्ष हो। परम्पराअनुसार इन्द्रध्वजका लागि आवश्यक लिङ्गो काभ्रेको नालाबाट ल्याउने गरिन्छ। नेपाल भाषामा यसलाई ‘यम्बद्यो’ भनिन्छ।
परम्परागत विधिअनुसार भक्तपुरको नाला क्षेत्रबाट रूख छनोट गरी काट्ने, उपत्यकामा ल्याउने र विभिन्न धार्मिक विधिपछि हनुमानढोकामा ठड्याउने गरिन्छ।
इन्द्रध्वज ठड्याएको आठौँ दिन अर्थात् आश्विन कृष्ण चौँथीका दिन इन्द्रध्वज पतन गर्ने परम्परा छ। धर्मशास्त्रअनुसार भरणी नक्षत्रको रातमा इन्द्रध्वज पतन गर्ने विधान रहेको धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले बताउनुभएको छ।
इन्द्रजात्रासँग जोडिएका अन्य परम्परा
इन्द्रजात्रालाई वर्षा, सहकाल, शक्ति र विजयसँग सम्बन्धित पर्वका रूपमा पनि लिइन्छ। पौराणिक मान्यताअनुसार शत्रुमाथि विजय प्राप्त गरेपछि खुसीयाली मनाउने परम्पराबाट यो पर्व सुरु भएको विश्वास छ।
यस समयमा चङ्गा उडाउने चलन पनि रहेको छ। वर्षाका देवता इन्द्रलाई वर्षा रोक्नका लागि बिन्ती गर्ने प्रतीकका रूपमा चङ्गा उडाउने गरिएको धार्मिक तथा सांस्कृतिक मान्यता छ।
इन्द्रजात्राको अवसरमा काठमाडौँको पश्चिममा रहेको दहचोकस्थित इन्द्रदहमा समेत धार्मिक गतिविधि हुने गर्छ। भक्तजनले रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन इन्द्रदहमा स्नान गर्ने र मेला भर्ने परम्परा छ।
इन्द्रजात्रासँगै अनन्त चतुर्दशी
आजकै दिन अनन्त चतुर्दशी पनि परेको छ। यस अवसरमा अनन्तनाथ अर्थात् भगवान् विष्णुको पूजा–आराधना गर्ने परम्परा छ। चोखो धागोमा अनन्त मन्त्रण गरी हातमा बाँध्दा वर्षभर शुभ हुने धार्मिक विश्वास छ।
त्यस्तै, श्रावण शुक्ल पूर्णिमामा कुनै कारणले जनै मन्त्रण गर्न नसकेकाले आज मन्त्रण गर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद्हरूले बताएका छन्।
यसरी इन्द्रजात्रा केवल धार्मिक पर्व मात्र नभई काठमाडौँ उपत्यकाको इतिहास, कला, संस्कृति, लोकविश्वास, जातीय परम्परा र सामुदायिक जीवनसँग गहिरोसँग जोडिएको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा स्थापित छ। विभिन्न कालखण्डमा शासक तथा समुदायले थप्दै लगेका विधि, नाच, रथयात्रा र परम्पराले यसलाई नेपालको मौलिक सांस्कृतिक पहिचानका रूपमा समृद्ध बनाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




































