07/30/2026, 17:01:39
बिहिबार, साउन १४, २०८३

पोखरा बसपार्कका सुकुम्वासीको अन्तिम नामावली साउन १८ गते सार्वजनिक गरिँदै

१४६ वटा दाबी-विरोध निवेदनमाथि छलफल जारी; स्थायी व्यवस्थापन नभएसम्म नहट्ने सरोकार समितिको चेतावनी।


कास्की, साउन १४ गते । पोखरा महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको अन्तिम नामावली यही साउन १८ गते सार्वजनिक गर्ने भएको छ। साउन २ गते प्रकाशित प्रारम्भिक नामावलीउपर परेका १४६ वटा दाबी-विरोध निवेदनमाथि अहिले महानगरले छलफल गरिरहेको छ।

प्रारम्भिक सूची अनुसार कुल ५७४ परिवारमध्ये २८६ भूमिहीन दलित/सुकुम्वासी र २३३ अव्यवस्थित बसोबासी रहेका छन् भने ५५ परिवारको विवरण दोहोरो परेको पाइएको छ। वास्तविक सुकुम्वासी पहिचान र जग्गा व्यवस्थापनका लागि पूर्वन्यायाधीश शङ्कर बराल, वडा अध्यक्ष राधिका शाही योगी र प्रशासन प्रमुख कृष्णप्रसाद तिवारीको संयोजकत्वमा गठित समितिहरूले प्रतिवेदन तथा सिफारिस महानगरलाई बुझाइसकेका छन्।

blog

२०३२ सालमा १९६ रोपनी अधिग्रहण गरी सुरु गरिएको बसपार्क योजना हाल अतिक्रमणका कारण १८७ रोपनीमा सीमित छ, जसमध्ये २६ रोपनी मात्र महानगरको नियन्त्रणमा छ।

यता, भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार सङ्घर्ष समितिले भने महानगरले प्रस्ताव गरेको १५ हजार रुपियाँ भाडा सहयोग अस्वीकार गरेको छ। लालपुर्जाको ठोस ग्यारेन्टी, ४ आनाका दरले जग्गा कित्ताकाट र खानेपानी, विद्युत्, बाटो जस्ता न्यूनतम पूर्वाधार नबनेसम्म स्थान नछाड्ने चेतावनी समितिका अध्यक्ष प्रेमबहादुर गुरुङले दिनुभएको छ।