काठमाडौँ, चैत १५ गते । नेपाल सरकार, मन्त्रीपरिषद्को मिति चैत १३ को बैठकबाट शासकीय सुधारसम्बन्धी पारित भएको एक सय कार्यसूची बमोजिम सार्वजनिक प्रशासनलाई पूर्णतः राजनीतिक हस्तक्षेपबाट मुक्त गर्दै निष्पक्ष, तटस्थ र नागरिकप्रति उत्तरदायी बनाउन विभिन्न सेवा प्रवाहलाई डिजिटल तथा प्राविधिक रुपान्तरणको कार्य यथासक्दो चाँडो अघि बढाइने बताइएको छ ।
कर्मचारीको डिजिटल प्रोफाइल तयार गरिने
उक्त कार्यसूची अन्तर्गत कर्मचारीको अद्यावधिक डिजिटल प्रोफाइल तयार गरी नियुक्ति, पदस्थापना, सरुवा, तालिम, बढुवा तथा अवकाशसम्मको व्यवस्था अनुमानयोग्य र स्वचावित बनाउन सङ्घीय मामिला तथा सामानयप्रशासन मन्त्रालयले तीन महिनाभित्र कर्मचारी व्यवस्थापन सूचना प्रणालीको आर्किटेक्चर तयार गर्ने ।
मोबाइलमार्फत गुनासो गर्न सकिने
नागरिकका गुनासो, सुझाव तथा सेवा अनुरोधलाई छिटो, प्रभावकारी तथा परिणाममुखी रुपमा सम्बोधन गर्न २४ घण्टे राष्ट्रिय नागरिक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली सञ्चालन गर्ने । सोका लागि फोन, मोबाइल, एप, पोर्टल तथा सामाजिक सञ्जालमार्फत गुनासो दर्ता गर्न सकिने बहुच्यानलको व्यवस्था मिलाउने ।
राहदानी र लाइसेन्स प्रक्रिया विचौलियामुक्त गराइने
पासपोर्ट, नागरिकता, सवारीचालक अनुमतिपत्र लगायतका सेवाहरु नागरिकलाई छिटो, सहज र बिचौलियामुक्त तरिकाले पूर्वानुमानयोग्य समयमा उपलब्ध गराउने व्यवस्था लागु गर्ने । सम्पूर्ण सेवा प्रक्रियालाई मुहारविहीन, समयबद्ध र डिजिटल प्रणालीमा रुपान्तरण गर्ने ।
घरमै सरकारी सेवा
सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गरी ‘गभर्नमेन्ट कुरियर सर्भिस’ का रपमा विकास गर्ने । जसमार्फत पासपोर्ट, नागरिकता प्रतिलिपी, लाइसेन्सलगायतका सरकारी कागजातहरु घरभित्रै पुर्याउने व्यवस्था सय दिनभित्र लागु गर्ने ।
जिआइओएमएस सुदृढ गर्ने
सार्वजनिक सेवा प्रवाहलाई छिटो, पारदर्शी, कागजरहित तथा अन्तरआबद्ध बनाउन सङ्घ, प्रदेश र स्थानीय तहका सबै सरकारी निकायहरुमा सय दिनभित्र विद्यमान ‘जीआईओएमएस’ प्रणालीलाई सुदृढ र प्रयोगकर्तामैत्री बनाउने ।
नागरिकका विवरण अटो–फिल हुने
- सरकारसँग पहिले नै भएको नागरिकको वैयक्तिक विवरण पुनः सोध्नुको सट्टा अटो–फिल हुने व्यवस्था सम्बन्धित कार्यालयले आफ्ना प्रणालीमा ६० दिनभित्र गर्ने ।
- सरकारी एप वा पोर्टलहरु अपाङ्गता भएका व्यक्ति र कम प्राविधिक ज्ञान भएका नागरिकले पनि चलाउन सक्ने गरी सरल बनाउने कार्य सय दिनभित्र सम्पन्न गर्ने ।
- अनलाइन आवेदन प्रणालीलाई सहज बनाउन नागरिक एपमार्फत आवेदन दिने व्यवस्था मिलाउने । प्रहरी प्रतिवेदन, राहदानी र सवारीचालक अनुमतिपत्रका लागि आवेदन गर्न सकिने व्यवस्था ४५ दिनभित्र मिलाउने ।
डिजिटल हस्ताक्षरद्वारा प्रमाणीकरण प्रणाली
डिजिटल सिग्नेचर हाल सर्टिफिकेटको माध्यमबाट हुने गरेकोमा राष्ट्रिय परिचयपत्र, बायोमेट्रिक वा ओटिपी को प्रयोग गरी ई–सिग्नेचर गरी नागरिकले आफ्नो विवरण बुझाउन सक्ने व्यवस्था गर्ने ।
यसका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको भौतिक तथा साङ्गठनिक सुदृढीकरण गर्ने । राष्ट्रिय परिचयपत्रलाई आधार बनाइ नागरिकका सबै सेवामा डिजिटल हस्ताक्षरद्वारा प्रमाणीकरण प्रणाली लागु गर्न गृह मन्त्रालयको संयोजकत्वमा अध्ययन गरी एक महिनाभित्र प्रधानमन्त्री तथा मन्त्रीपषिद्को कार्यालयमा प्रतिवेदन दिने ।
फाइल ट्रयाकिङकोे व्यवस्था
- फाइल कुन टेबुलमा कति समय बस्यो भन्ने ट्र्याकिङ गर्ने र तोकिएको समय नाघेमा माथिल्लो अधिकारीलाई ‘अलर्ट’ जाने प्रणालीको उपयोग विद्यमान एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमा ३० दिनभित्र गर्ने ।
- राष्ट्रिय एकीकृत शासन प्लेटफर्म स्थापना गरी डिजिटल गभर्नेन्स ब्लुप्रिन्ट कार्यान्वयन गर्ने ।
एकै प्लेटफर्मबाट सहज सेवा
- नागरिकले एउटै डिजिटल प्लेटफर्ममार्फत सबै सेवा सहज रुपमा प्राप्त गर्न सक्ने व्यवस्था मिलाउन सेवा प्रवाहमा दोहोरोपनको अन्त्य गर्न, पारदर्शिता अभिवृद्धि तथा समय र लागत उल्लेख्य रुपले घटाउन डिजिटल भगर्नेन्स र व्यक्तिगत डाटा संरक्षणसम्बन्धी नीति तथा कानुनको तर्जुमा ६० दिनभित्र गर्ने ।
- प्रधानमन्त्री मातहतमा सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय स्थापना
- परिणाममुखी डिजिटल शासन प्रणाली स्थापना गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मातहत रहने गरी सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय स्थापना गर्ने कार्य तीन महिनाभित्र सम्पन्न गर्ने ।
- सूचना प्रविधि तथा विद्युतीय शासन विधेयक ६० दिनभित्र तर्जुमा गर्ने ।
- नेशनल इन्टरप्राइज आर्किटेक्चर फ्रेमवर्क ६० दिनभित्र तयार गर्ने ।
– सपना थामी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
