06/20/2026, 14:21:10
शनिबार, असार ०६, २०८३

फ्रिक्वेन्सी पाए ‘फाइभजी सेवा’ सञ्चालन गर्न नेपाल टेलिकम तयार

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले आवश्यक फ्रिक्वेन्सी उपलब्ध गराएमा काठमाडौँ र पोखराजस्ता ठुला सहरहरूमा तत्कालै व्यावसायिक फाइभजी (5G) सेवा सञ्चालन गर्न आफूहरू तयार रहेको नेपाल टेलिकमले जनाएको छ।


काठमाडौँ, असार ५ गते । नियामक निकायले आवश्यक फ्रिक्वेन्सी उपलब्ध गराएमा फाइभजी (5G) प्रविधिमा आधारित दूरसञ्चार सेवा सञ्चालन गर्न नेपाल टेलिकम तयारी अवस्थामा रहेको छ।

प्रविधि पत्रकार मञ्च (टिजेएफ) ले बिहीबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा टेलिकमका उपप्रबन्धक राजेन्द्र दुलालले फाइभजीको प्रारम्भिक परीक्षण सफल भइसकेकाले व्यावसायिक प्रयोगका लागि फ्रिक्वेन्सी पाएमा तत्काल सेवा सञ्चालन गर्ने जानकारी दिनुभयो। “परीक्षण सफल भइसकेकाले पहिलेभन्दा अलग ब्यान्डमा फ्रिक्वेन्सी उपलब्ध भएमा सर्वसाधारणका लागि पनि यो सुविधा उपलब्ध गराउन सक्छौँ,” उहाँले भन्नुभयो।

९ सय मेगाहर्ज ब्यान्डमै टेलिकमको जोड

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी परीक्षणका लागि टेलिकमलाई २६ सय मेगाहर्ज ब्यान्डमा २० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको थियो। तर, टेलिकमले भने ९ सय मेगाहर्ज ब्यान्डमा फ्रिक्वेन्सी उपलब्ध गराउन आग्रह गरिरहेको छ।

कारण: तल्लो ब्यान्डमा फ्रिक्वेन्सी प्राप्त हुँदा त्यसको ‘कभरेज एरिया’ (तङ्गरंग क्षेत्र) बढी हुन्छ।
फाइदा: कभरेज बढी हुँदा कम टावरबाट धेरै क्षेत्र समेट्न सकिने भएकाले दूरसञ्चार कम्पनीको लागत खर्च निकै कम हुन जान्छ।

ठुला सहरहरूबाट सुरुवात हुने

फाइभजीको फ्रिक्वेन्सी प्राप्त भएमा खास गरी महानगर र ठुला सहरहरूमा तत्कालै सेवा सुरु गरिने टेलिकमले जनाएको छ। उपप्रबन्धक दुलालका अनुसार काठमाडौँ र पोखराजस्ता सहरहरूमा कम्पनी तत्कालै सेवा सञ्चालन गर्न सक्ने अवस्थामा छ।

करिब चार वर्षअघि नै फाइभजी परीक्षण गरेको टेलिकमले सेटहरूको अभावका कारण व्यावसायिक सेवा सुरु गर्न सकेको थिएन। सुरुवातमा फाइभजी ‘सपोर्ट’ गर्ने मोबाइल सेटहरू कम भएकाले टेलिकमकै कर्मचारीको सेटमा मात्र परीक्षण गरिएको थियो। अहिले भने बजारमा करिब २० प्रतिशत मोबाइल सेटहरू फाइभजी चल्न सक्ने भएकाले व्यावसायिक सुरुवातका लागि उपयुक्त वातावरण बनेको छ।

प्राधिकरण फ्रिक्वेन्सी दिन तयार, तेस्रो सेवाप्रदायकको आवश्यकता महसुस

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले सेवाप्रदायकले माग गरेमा फाइभजी फ्रिक्वेन्सी दिन कुनै समस्या नरहेको स्पष्ट पार्नुभयो। “सेवाप्रदायक तयार हुनुपर्‍यो, प्राधिकरण फ्रिक्वेन्सी दिन तयार छ,” उहाँले भन्नुभयो। साथै, प्रवक्ता अर्यालले नेपालको दूरसञ्चार बजारमा प्रतिस्पर्धा बढाउन तेस्रो सेवाप्रदायकको आवश्यकता रहेको औंल्याउनुभयो। प्राधिकरणको अध्ययनले पनि अहिलेकै अवस्थामा बजार प्रतिस्पर्धी बन्न नसक्ने र तेस्रो दूरसञ्चार सेवाप्रदायक आवश्यक रहेको देखाएको उहाँको भनाइ थियो।

विज्ञ भन्छन्: “तेस्रो सेवाप्रदायक आवश्यक छैन”

दूरसञ्चारविज्ञ आनन्दराज खनाल भने नेपालमा तेस्रो सेवाप्रदायक आवश्यक नरहेको तर्क गर्नुहुन्छ। भएकै दुई वटा सेवाप्रदायकको आम्दानीले खर्च धान्न नसक्ने अवस्था आइसकेको उहाँको भनाइ छ।

सरकारी स्वामित्वको नेपाल टेलिकमले समेत बैङ्कमा राखेको पैसाको ब्याजबाट नाफा देखाउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै खनालले भन्नुभयो, “यस्तै अवस्था रहे दुई/तीनि वर्षमा कुनै एउटा सेवाप्रदायक नै नरहने स्थिति आउन सक्छ। यस्तोमा तेस्रो सेवाप्रदायकको कुनै औचित्य देखिन्न।” उहाँले दूरसञ्चार क्षेत्रका वर्तमान कानुनहरू विरोधाभाषपूर्ण र लगानीमैत्री नभएकाले कानुन संशोधन अपरिहार्य भइसकेको बताउनुभयो।

स्टारलिङ्कको आगमन र बजारको चुनौती

इन्टरटेट सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइस्पान) का पूर्वअध्यक्ष विनय बोहोराले नेपालमा भूउपग्रहमा आधारित इन्टरनेट सेवा ‘स्टारलिङ्क‘ भित्रिँदा स्वदेशी इन्टरनेट सेवाप्रदायक (ISPs) लाई कुनै समस्या नपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “हामी स्टारलिङ्कलाई स्वागत गर्न चाहन्छौँ।

यद्यपि, दूरसञ्चार क्षेत्रमा लगाइएको अत्यधिक कर र अस्थिर नीतिका कारण नेपालमा व्यवसाय गर्ने वातावरण भने क्रमशः बिग्रँदै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो।