05/28/2026, 11:57:27
बिहिबार, जेठ १४, २०८३

पृथ्वीचोकमा आज डोजर चल्ने, फिर्केमा १०५ संरचना हटाइयो


लेखनाथ, जेठ १४ गते । पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा, सडक तथा खोलानाला अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ । पोखराको पृथ्वीचोकस्थित हङकङ बजार अगाडि सङ्घसंस्थाले प्रयोग गर्दै आएका भवनहरू बिहीबार भत्काइने भएको छ ।

यसअघि ३५ दिने सूचना जारी गर्दै संरचना हटाउन आग्रह गरेको महानगरपालिकाले बुधबार माइकिङ गरी बिहीबार बिहान ११ बजेदेखि डोजर चलाइने जानकारी दिएको थियो । उक्त क्षेत्रमा सहारा क्लब, सामुदायिक प्रहरी सेवा केन्द्र, जिफन्ट गण्डकी, ट्रेड युनियन कांग्रेस, हिमाली सांस्कृतिक परिवार लगायत विभिन्न सङ्घ-संस्थाका भवन रहेका छन् । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा बनेका ती भवनहरू सङ्घ-संस्थाले उपयोग गर्नुका साथै भाडामा समेत लगाएका थिए ।

महानगरका प्रमुख धनराज आचार्यले संरचना हटाएर सडक फराकिलो बनाइने बताउनुभयो । “यी संरचना हटाएर पृथ्वीचोकबाट नयाँबजार जाने सडक दुईतर्फी बनाइनेछ,” उहाँले भन्नुभयो, “यस आसपासमा रहेका सुकुम्बासीका घरहरू पनि उचित व्यवस्थापनसहित चाँडै खाली गरिनेछ ।

यता, फिर्केखोलाको बहाव क्षेत्रमा बनेका संरचना हटाउने अभियान चार दिनदेखि जारी छ । बुधबार मात्रै साना–ठुला गरी २३ वटा संरचना हटाइएको महानगरले जनाएको छ । वडा नं. १८ र २ को सीमाना क्षेत्रमा आठ वटा संरचना हटाइएका छन् भने वडा नं. ४ र ५ मा चार वटा संरचना भत्काइएको छ । वडा नं. ७ र ८ मा पाँच वटा कम्पाउन्ड वाल र छ वटा स्थायी संरचना हटाइएको छ ।

आइतबारबाट सुरु भएको अभियानमा बुधबारसम्म आइपुग्दा फिर्केखोलाको बहाव क्षेत्रबाट एक सय पाँच वटा संरचना हटाइसकिएको छ । करिब आठ किलोमिटर लामो फिर्केखोलाको बहाव क्षेत्रमा एक सय ६० भन्दा बढी संरचना रहेको महानगरको तथ्याङ्क छ । तीन स्थानबाट सञ्चालन गरिएको अभियानमा तीन वटा जेसिबी र दुई वटा एक्साभेटर प्रयोग गरिएको छ ।

महानगरले फिर्केखोलाको बहाव क्षेत्र खाली गरिसकेपछि त्यसलाई आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना बनाएको छ । साइकल मार्ग, फुटपाथ, हरियाली प्रवर्द्धन र लाइटिङसहित सुरक्षित फिर्के करिडोर निर्माण गरिने जनाएको छ । साथै, पोखरा बसपार्क क्षेत्र पनि चाँडै खाली गरी आधुनिक बसपार्क निर्माण सुरु गर्ने तयारी महानगरपालिकाले गरेको छ ।

– फडिन्द्र अधिकारी