बेइजिङ, वैशाख ३१ गते । चिनियाँ राष्ट्रपति सी चिनफिङ र चीनको राजकीय भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिहीबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा द्विपक्षीय वार्ता भएको छ ।
वार्ताका क्रममा राष्ट्रपति सीले नयाँ युगमा दुई ठुला देशबीच सौहार्दपूर्ण सम्बन्ध कायम राख्ने सही बाटो पहिल्याउनु पर्नेमा जोड दिनुभएको छ । राष्ट्रपति सीले दुई देशबीच मतभेदभन्दा साझा हितका विषयहरू बढी रहेको उल्लेख गर्दै एकको सफलता अर्कोका लागि अवसर हुने बताउनुभयो ।
चीन र अमेरिकाबीचको स्थिर सम्बन्ध विश्वका लागि लाभदायक हुने चर्चा गर्दै उहाँले सहकार्यबाट दुवै पक्षलाई फाइदा हुने र टकरावले दुवैलाई नोक्सानी पुग्ने धारणा व्यक्त गर्नुभयो । राष्ट्रपति सीले भन्नुभयो, “हामी प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ । हामीले एकअर्कालाई सफल हुन र सँगै समृद्ध बन्न मद्दत गर्नुपर्छ ।”


विश्वमा एक शताब्दीयता नदेखिएको परिवर्तनको गति तीव्र भइरहेको र अन्तर्राष्ट्रिय परिस्थिति अस्थिर रहेको सन्दर्भ जोड्दै चिनियाँ राष्ट्रपतिले विश्व अर्को दोबाटोमा उभिएको बताउनुभयो । उहाँले चीन र अमेरिकाले ठुला शक्तिबीचको द्वन्द्वको जोखिमलाई पार गर्दै प्रमुख राष्ट्रहरूबीचको सम्बन्धको नयाँ नमुना तयार गर्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न आजको समयको मुख्य चुनौती रहेको उल्लेख गर्नुभयो ।
राष्ट्रपति सीले दुवै देशका जनताको हित र मानवताको भविष्यका लागि विश्वव्यापी चुनौतीहरूको मिलेर सामना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सन् २०२६ लाई चीन–अमेरिका सम्बन्धका लागि ऐतिहासिक र कोशेढुङ्गा सावित हुने वर्षका रूपमा हेर्न चाहेको समेत व्यक्त गर्नुभएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














































