04/30/2026, 19:02:53
बिहिबार, बैशाख १७, २०८३

७ वटा माइक्रो इन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्सको लाइसेन्स वितरण प्रक्रियाको छानबिन सुरू


काठमाडौँ, वैशाख १७ गते । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सात वटा माइक्रो इन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्सको लाइसेन्स वितरण प्रक्रिया तथा संस्थापक सेयर विवरण सम्बन्धमा अनुसन्धान थालेको छ ।

बिमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालले व्यवसायी दीपक भट्टसँगको मिलेमतोमा हिमालयन रिइन्स्योरेन्स र हरेक प्रदेशमा एक/एक वटा माइक्रो इन्स्योरेन्स स्थापना भएको तथा ती कम्पनीहरूमा अंकित मूल्यभन्दा बढी (प्रिमियम)मा सेयरमा लगानी भएको आशंकामा विभागले उक्त अनुसन्धान थालेको हो ।

यसका लागि विभागले नेपाल बिमा प्राधिकरणसँग माइक्रो इन्स्योरेन्स कम्पनी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी, ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनी र हिमालयन इन्स्योरेन्स को लाइसेन्स वितरण प्रक्रिया, संस्थापक सेयरधनी, उनीहरूले प्रिमियमका खरिद गरेको सेयर, सेयर खरिदको बैंकिङ विवरण लगायत विवरण मागेको छ ।

यस विभागबाट भइरहेको अनुसन्धानका क्रममा अध्ययन प्रयोजनका लागि विवरण आवश्यक परेकाले बिमक माइक्रो इन्स्योरेन्स कम्पनी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी, ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनी र हिमालयन इन्स्योरेन्ससमेतको संस्थापना हुँदा बिमा प्राधिकरणबाट अनुमति प्राप्त गर्ने प्रक्रिया बारेमा जानकारी दिनू,’ विभागको पत्रमा भनिएको छ,

त्यतिबेला समयसम्ममा उल्लिखित कम्पनीहरूमा संस्थापक सेयर खरिद गर्नु हुने संस्थापक सेयरधनीले चुक्ता पुँजीबापत कम्पनीमा भुक्तानी गरेको वाहेक अतिरिक्त शुल्क (प्रिमियम) बापत विभिन्न व्यक्ति तथा संस्थाहरूको बैंक खातामा बुझाएको रकमका हकमा के कति रकम, को कस्का नाउँमा रहेको, के कति नम्बरको, के कुन बैंक तथा वित्तीय संस्थाको खातामा, के कुन जम्मा गरेको हो भन्ने समेतका विवरण फरक नपर्ने गरी विभागको कार्यालयमा यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र बुझाई दिनु भई अनुसन्धान कार्यमा सहयोग गरी दिनु हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ ।

– यज्ञ बञ्जाडे